काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इटहरीमा आयोजना गरेको प्रदेशस्तरीय आमसभापछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा र सार्वजनिक प्रश्न उठाएका छन्।सामाजिक सञ्जालमार्फत उनले रास्वपा नेतृत्वमाथि प्रत्यक्ष प्रहार गर्दै ७४ लाख सहकारी पीडित र एमसीसीजस्ता राष्ट्रिय बहसका विषयमा किन मौनता देखिएको भन्दै प्रश्न गरेका हुन्।उनले विशेषगरी पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई लक्षित गर्दै सोधेका छन्—“१४ जिल्लाका कार्यकर्ता उतारिएको सभामा ‘नो एमसीसी’ भन्ने हिम्मत भयो कि भएनरु ७४ लाख सहकारी पीडितबारे एक शब्द बोलियो कि नाइँरु”
‘सिंहदरबार जलाउने’ नाराको औचित्यमाथि प्रश्न
साम्पाङले रास्वपाको पूर्वघोषित ‘सिंहदरबार जलाउने’ शैलीको राजनीतिक भाष्यप्रति पनि व्यंग्य प्रहार गरेका छन्। उनका अनुसार, यदि ठूला दाबी गर्ने हो भने संवेदनशील र संरचनात्मक समस्यामा स्पष्ट धारणा आउनुपर्ने थियो। उनले किसानलाई ‘फोहोर’ भन्ने अभिव्यक्तिको प्रसंग उठाउँदै मजदुर, सुकुम्बासी र श्रमिक वर्गप्रति पार्टीको दृष्टिकोण के हो भन्ने स्पष्ट गर्न चुनौती दिएका छन्। “डोजरले सुकुम्बासी समस्या समाधान गर्ने होरु” भन्ने प्रश्नमार्फत उनले शहरी विकास र मानवअधिकारबीचको सन्तुलनबारे पनि कटाक्ष गरेका छन्।
विकासका वाचा बनाम नीतिगत स्पष्टता
इटहरी सभामा बालेन्द्र शाहले धरानको खानेपानी समस्या समाधानका लागि सप्तकोशीबाट पानी लिफ्टिङ गरी करिब ५ अर्ब रुपैयाँ लागतमा आयोजना अघि बढाउने दाबी गरेका थिए। तर साम्पाङको संकेत भने फरक छ—के विकासका आकर्षक योजनाले राष्ट्रिय नीतिगत प्रश्नहरू छायामा पार्न मिल्छ ? उनको आलोचना केवल व्यक्तिप्रति केन्द्रित नभई, राजनीतिक संस्कार र प्राथमिकतामाथि लक्षित देखिन्छ। सहकारी संकटले लाखौं सर्वसाधारण प्रभावित हुँदा त्यसबारे स्पष्ट प्रतिबद्धता नआउनु गम्भीर विषय भएको उनको तर्क छ।
बहसको केन्द्रमा जवाफदेहिता
साम्पाङको टिप्पणीले एउटा व्यापक प्रश्न उठाएको छ—लोकप्रिय नाराभन्दा ठोस नीतिगत धारणा महत्वपूर्ण होइन र ? रास्वपाको इटहरी सभा शक्ति प्रदर्शनका रूपमा हेरिए पनि, त्यसले राष्ट्रिय मुद्दामा स्पष्टता दिएको छ कि छैन भन्ने बहस भने चर्किँदै गएको छ। राजनीतिक प्रतिस्पर्धा अब केवल भीडको आकारले होइन, एजेन्डाको गहिराइले पनि मापन हुने समय आएको संकेत साम्पाङको टिप्पणीले गरेको देखिन्छ।




