काठमाडौं । कल्याण श्रेष्ठले कानून निर्माण प्रक्रिया अनुमान र अन्धविश्वासका आधारमा नभई गहिरो अध्ययन र सरोकारवालाको सहभागितासहित हुनुपर्ने बताएका छन्। कुष्ठरोगसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रम तथा नेपाल ल सोसाइटीले आयोजना गरेको छलफलमा बोल्दै उनले कानून निर्माणको शैलीमै कमजोरी हुँदा कार्यान्वयन प्रभावकारी हुन नसक्ने चेतावनी दिए।
श्रेष्ठका अनुसार समाजमा पर्याप्त संवाद र तथ्यगत बहस नगरी बनाइने कानूनले समस्या समाधान गर्नुको सट्टा झन् जटिलता निम्त्याउन सक्छ। “सबै सम्भावनालाई बन्द गरेर अन्धविश्वासको भरमा कानून बनाउँदा त्यसको परिणाम पनि त्यस्तै हुन्छ,” उनले उल्लेख गरे। उनले विशेषगरी कुष्ठरोगका विषयमा विगतमा फैलिएको भ्रम र सामाजिक दृष्टिकोणले कानून निर्माणलाई समेत प्रभावित गरेको बताए। कुष्ठरोगलाई ‘महारोग’का रूपमा हेर्ने, संक्रमित व्यक्तिलाई छुवाछूत गर्ने प्रवृत्तिले उनीहरूको सम्मानित जीवन बाँच्ने अधिकारमा असर पुगेको उनको भनाइ थियो।
श्रेष्ठले जोड दिए कि कुष्ठरोग निको हुन सक्ने रोग हो, यसको उपचार सम्भव छ, पुनर्स्थापना र पुनर्वासका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ। तर, यस्ता यथार्थलाई बेवास्ता गरेर बनाइएका प्रावधानहरूले कार्यान्वयनमा समस्या ल्याएको उनले संकेत गरे।
कानून निर्माण प्रक्रियामा प्रभावित समुदायको सहभागिता, खुला बहस र वैज्ञानिक आधार आवश्यक रहेको उनको निष्कर्ष छ। उनका अनुसार, समावेशी र तथ्यमा आधारित कानून मात्रै व्यवहारमा सफल हुन सक्छ।




