काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनभन्दा ७२ घण्टा अघि नेपाल–भारत र नेपाल–चिनतर्फका सीमा नाका बन्द गर्ने निर्णय उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले गरेको छ।मंगलबार निर्वाचन आयोगमा बसेको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सचिव कृष्ण बहादुर राउत, नेपाल प्रहरीका दान बहादुर कार्की, सशस्त्र प्रहरीका राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधिहरू उपस्थित थिए।
बैठकले मतदाता सुरक्षा र निर्वाचन सुचारु सञ्चालनलाई प्राथमिकतामा राख्दै मतदानअगावै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो। निर्वाचन सामग्री हिमाली जिल्लामा पठाउने र त्यहाँको कठिन भौगोलिक अवस्था व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको थियो।
साथै बैठकमा मादक पदार्थ बिक्रीमा रोक, तराई–मधेशको फागुन १९ को होली पर्व व्यवस्थापन, जनकपुरको जानकी मन्दिरमा आउने ठूलो भीडको समन्वय र भारतीय नम्बर प्लेटका सवारी साधन नियन्त्रणबारे छलफल गरिएको छ। एक अधिकृतका अनुसार, “मौन अवधिमा पर्व परेकाले नागरिक र निर्वाचन सुरक्षा दुबै सुनिश्चित गर्न उपायहरू तयार पारिएको छ।”
निर्वाचनको पूर्ण तयारीमा केन्द्रित यस बैठकले मतदान सुचारु, शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक सुरक्षा र व्यवस्थापनका उपायहरू निर्धारण गरेको आयोगले जनाएको छ।




