काठमाडौं । फागुन २१ मा तय भएको प्रतिनिधिसभा निर्वाचन सार्ने हल्लाप्रति नेकपा एमालेले स्पष्ट आपत्ति जनाएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा एमाले निर्वाचन प्रचार–प्रसार समितिका संयोजक मीनबहादुर शाही ले पार्टी यसबारे गम्भीर रहेको बताएका छन्।
शाहीले भने, “अहिले निर्वाचन सर्ने जुन हल्ला फैलाइएको छ, त्यसप्रति एमालेको ध्यानाकर्षण भएको छ। पुनः दोहोर्याउँछु–निर्वाचन तोकिएको समयमा नै हुनुपर्छ।”
एमालेले कुनै पनि बहानामा चुनाव सार्ने पक्षमा नरहेको स्पष्ट गर्दै फागुन २१ को मितिमा मतदान हुने अडान राखेको छ। शाहीले हल्लाको भित्री उद्देश्य के हुनसक्छ भन्नेबारे पनि पार्टी गम्भीर रहेको बताए। उनले थपे, “कुन कोणबाट, कुन राजनीतिक उद्देश्यका साथ चुनाव सार्ने प्रयास भइरहेको छ भन्ने विषयमा एमाले सतर्क छ र यसलाई सहमतिका रूपमा स्वीकार्ने छैन।”
यसरी एमालेले निर्वाचन स्थिरता र समयपालनतर्फ जोड दिँदै, मतदाता र राजनीतिक दलहरूलाई स्पष्ट सन्देश दिएको छ।




