देश

एक लाखदेखि १० लाख रुपैयाँसम्म सहयोग माग्दै दबाब ! कहिले देख्न पाइएला रास्वपाको पारदर्शीता ?

काठमाडौं । आर्थिक अनियमितताको आरोपका कारण आन्तरिक विवाद झेलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)अहिले चन्दा संकलनको विषयलाई लिएर थप विवादमा तानिएको छ। केही व्यवसायीले पार्टीका उम्मेदवारहरूले चन्दा दिन दबाब दिएको आरोप लगाएका छन्।

काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य तथा रास्वपाका नेता गणेश पराजुली विरुद्ध विशेषगरी ठमेल र न्यूरोड क्षेत्रका व्यापारीले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले चन्दा नदिए भविष्यमा समस्या आउन सक्ने भन्दै दबाबपूर्ण फोन आउने गरेको दाबी गरेका छन्। एक लाखदेखि १० लाख रुपैयाँसम्म सहयोग मागिएको गुनासोसमेत गरिएको छ।

व्यापारीहरूका अनुसार तयारी पोशाक तथा गार्मेन्ट व्यवसायसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरी रकम संकलनको प्रयास भएको बताइएको छ। नेपालबाट अमेरिका र युरोपतर्फ तयारी पोशाक निर्यात गर्ने व्यवसायीहरू मुख्यतः ठमेल र न्यूरोड क्षेत्रमा केन्द्रित छन्।

यता, पराजुलीले विगतमा सानो व्यवसायबाट यात्रा सुरु गरी अहिले होलसेल तथा हस्तकलासम्बन्धी व्यापारमा संलग्न रहेको बताइन्छ। उनीमाथि घरजग्गा क्षेत्रमा लगानी विस्तार गरेको चर्चा पनि बजारमा छ। केही स्रोतले परिवारका सदस्य र निकट व्यक्तिका नाममा ठमेल तथा गल्कोपाखा क्षेत्रमा घर खरिद गरिएको दाबी गरेका छन्। यद्यपि, यी विषयमा आधिकारिक पुष्टि भने भएको छैन।

एक निकट व्यवसायीले नाम नखुलाउने सर्तमा भने, “अघिल्लो चुनावमा सहयोग गरियो, तर पछिल्ला गतिविधि शंकास्पद देखिए।”स्मरणीय छ, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–७ बाट रास्वपाका तर्फबाट उम्मेदवार बनेका पराजुली ८७४३ मतसहित निर्वाचित भएका थिए। उनले नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *