काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा। शेखर कोइरालाले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। उनले क्षेत्रको समग्र विकास र राष्ट्रिय राजनीतिक स्थायित्वलाई केन्द्रमा राख्दै आठ प्रमुख अठोट अघि सारेका हुन्। सार्वजनिक गरिएको प्रतिबद्धतामा लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा मुख्य प्राथमिकतामा छन्। त्यस्तै, किसानको हित संरक्षण, डिजिटल प्रविधिको विस्तार, उद्योग पुनरुत्थान र बाढी नियन्त्रणका दीर्घकालीन उपायसमेत समेटिएका छन्।
डा। कोइरालाले संसदीय सर्वोच्चता र संविधानको रक्षा आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गर्दै संविधान संशोधन तथा पूर्ण कार्यान्वयनका लागि संसदमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘रोजगारीका लागि विदेश होइन, आफ्नै क्षेत्र’ भन्ने नारासहित बन्द तथा कमजोर अवस्थामा रहेका उद्योग पुनः सञ्चालन गर्ने नीति अवलम्बन गरिने उनले बताएका छन्। स्थानीय उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउने उनको योजना रहेको छ।
उनको अठोटपत्रले लोकतान्त्रिक मूल्य–मान्यता जोगाउँदै विकास र समृद्धिलाई सँगै अघि बढाउने लक्ष्य प्रस्तुत गरेको छ।





