देश

सर्लाही–४ बाट राष्ट्रिय सन्देश दिने तयारीमा थापा,स्थानीय अपेक्षा सम्बोधन गर्दै परिणाममुखी काम गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन कुमार थापाले सर्लाही क्षेत्र नम्बर–४ लाई विकासको नमुना बनाएर देशलाई नयाँ सन्देश दिने अठोट व्यक्त गरेका छन्। यसपटक काठमाडौं छाडेर तराई–मधेसको यस क्षेत्रमा चुनावी प्रतिस्पर्धामा उत्रिएका थापाले स्थानीय अपेक्षा सम्बोधन गर्दै परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाएका हुन्।

अघिल्ला वर्षहरूमा कार्यक्रममै सीमित भ्रमणले सर्लाहीलाई सतही रूपमा मात्रै चिनेको बताउँदै उनले उम्मेदवार बनेपछि घरदैलोमार्फत वास्तविक अवस्था नजिकबाट देख्न पाएको बताए। टोल–टोल पुग्दा विकासका आधारभूत काम अझै अधुरै रहेको र वर्षौँदेखि दोहोरिँदै आएका एजेन्डा यथावत् रहेको अनुभव सुनाए। स्थानीयले विगतका प्रतिनिधिहरूबाट धेरै आश्वासन पाएको तर कार्यान्वयन कमजोर रहेको गुनासो गरेको उल्लेख गर्दै थापाले आफूलाई पनि त्यही सूचीमा राख्ने शंका मतदातामा देखिएको बताए। “एकै पुल सात–आठ चुनावदेखि एजेन्डा बन्नु तर निर्माण अघि नबढ्नु यहाँको यथार्थ हो,” उनले भने।

विश्वास पुनःस्थापित गर्न आफूले व्यवस्थित ‘सांसद कार्यालय’ स्थापना गर्ने योजना अघि सारेका छन्। उक्त संयन्त्रमार्फत चुनावी प्रतिबद्धताको नियमित अनुगमन गरिने र जनतासँग प्रत्यक्ष समन्वय हुने उनको भनाइ छ। बिचौलियामार्फत पहुँच हुने–नहुनेबीचको दूरी हटाउन यही संरचना प्रभावकारी हुने दाबी उनले गरे।

शिक्षा, स्वास्थ्य, सिँचाइ र कृषिसम्बन्धी विषयमा विज्ञ टोलीले क्षेत्रमै अध्ययन गरिसकेको उल्लेख गर्दै उनले योजना बनाउँदा तथ्य र आवश्यकता दुवैलाई आधार बनाउने बताए। विशेषगरी सामुदायिक विद्यालय सुधारलाई प्राथमिकतामा राख्ने संकेत उनले दिएका छन्।

प्रधानमन्त्रीका रूपमा चर्चा भइरहेका बेला एउटै क्षेत्रमा केन्द्रित हुनु चुनौतीपूर्ण भएको स्वीकार्दै उनले समय व्यवस्थापन मिलाएर अन्य क्षेत्रमा पनि पुग्ने तयारी रहेको बताए। पार्टीभित्र उत्साह उच्च भए पनि त्यो ऊर्जा मतदातासम्म पुर्‍याउनु नै मुख्य काम भएको उनको भनाइ छ। अन्य दलसँग तालमेलको सम्भावना भने उनले अस्वीकार गरेका छन्।

सर्लाही–४ मा आफूलाई कमजोर ठानेर मेहनत गरिरहेको बताउँदै थापाले कुनै पनि प्रतिस्पर्धीलाई हल्का रूपमा नलिएको स्पष्ट पारे। स्थानीय र अनुभवी उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपरेकाले संघर्ष कडा हुने उनले स्वीकारे। तर, आफ्ना लागि सबैभन्दा ठूलो चुनौती भाषा रहेको उनको भनाइ छ। “उनीहरूको कुरा बुझ्छु, तर त्यही भाषामा अभिव्यक्त गर्न सक्दिनँ,” उनले भने, “मेरो बलियो पक्ष नै आफ्ना कुरा स्पष्ट राख्नु हो, तर भाषाले केही दूरी सिर्जना गरेको छ।”

सर्लाही–४ लाई विकासको प्रयोगशाला बनाएर राष्ट्रिय राजनीतिमा सन्देश दिन सकिन्छ भन्ने विश्वासका साथ मैदानमा उत्रिएका थापाको अठोट कति सफल हुन्छ, त्यसको निर्णय मतपेटिकाले गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *