काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान का संयोजक दुर्गा प्रसाईं लाई प्रहरी हिरासतबाट आज सर्वोच्च अदालत मा उपस्थित गराइएको छ। गत सातादेखि हिरासतमा रहेका प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बिहानै अदालतमा पेश गरेको हो। उनलाई फागुन ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले फागुन ५ गते अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको थियो।
बन्दी प्रत्यक्षीकरण रिटपछि अदालतको आदेश
प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी तर्फबाट उमा प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले कारण देखाऊ आदेश जारी गर्नुका साथै उनलाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो। सोही आदेशअनुसार प्रहरी टोलीले उनलाई अदालत पुर्याएको हो।
निर्वाचन आयोगको निर्णयसम्बन्धी फाइल माग
यसैबीच, न्यायाधीश डा.नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले प्रसाईंमाथि अनुसन्धान तथा कारबाही अघि बढाउने निर्णयसँग सम्बन्धित फाइल झिकाउन आदेश दिएको छ। ४ फागुन २०८२ मा निर्वाचन आयोग ले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको आधारमा कारबाही प्रक्रिया अघि बढाइएको दाबी प्रहरीको छ। सर्वोच्चले यसअघि प्रसाईंले दायर गरेको मुद्दासम्बन्धी कागजातसमेत झिकाउन आदेश दिँदै आगामी मंगलबारका लागि पेशी तोकेको छ। अब अदालतको आगामी सुनुवाइले प्रसाईंको हिरासत र अनुसन्धान प्रक्रियाबारे थप स्पष्टता दिने अपेक्षा गरिएको छ।




