देश

‘मधेसबारे बालेनको दृष्टिकोण अस्पष्ट’ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल का अध्यक्ष उपेन्द्र यादव ले मधेसका सवालमा राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह को धारणा स्पष्ट नभएको आरोप लगाएका छन्। रुपन्देहीको मर्चवार क्षेत्रमा आयोजित चुनावी कार्यक्रम तथा भैरहवामा भएको पत्रकार सम्मेलनमा बोल्दै यादवले मधेसी जनताको अधिकार आन्दोलनमा शाहको भूमिकाबारे प्रश्न उठाए। “मधेसको अधिकारको लडाइँ हुँदा उहाँ कहाँ हुनुहुन्थ्योरु” उनले प्रतिप्रश्न गरे, “मधेस, राष्ट्रिय राजनीति र वैचारिक धाराबारे उहाँको स्पष्ट दृष्टिकोण देखिँदैन।”

यादवले रास्वपाले चुनावी रणनीतिअन्तर्गत शाहलाई अगाडि सारेको उल्लेख गर्दै सामाजिक सञ्जालमा चर्चा भए पनि भुइँतहमा त्यस्तो प्रभाव नदेखिएको दाबी गरे। मधेस, आदिवासी, जनजाति तथा समावेशिताका मुद्दा निरन्तर उठाउँदै आएको दाबी गर्दै उनले ती विषयमा आफ्नो पार्टीको स्पष्ट अडान रहेको बताए।

अध्यक्ष यादवले मुलुकमा दोहोरिँदै आएको राजनीतिक अस्थिरताको जड शासकीय स्वरूपमा रहेको टिप्पणी गरे। संघीयता, गणतन्त्र र राष्ट्रिय मुद्दाको पक्षमा उभिने शक्तिसँग मात्रै सहकार्य सम्भव हुने उनको भनाइ थियो। आगामी निर्वाचन नजिकिँदै जाँदा मधेसको राजनीतिक एजेन्डा र दलहरूको धारणा फेरि बहसको केन्द्रमा आएको छ। यादवको अभिव्यक्तिले विशेषगरी मधेस क्षेत्रमा दलहरूबीच वैचारिक प्रतिस्पर्धा तीव्र भएको संकेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *