राजनीति

झापा–५ मा ओलीको कडा सन्देश : बुथ कब्जा असम्भव, ‘नेशनल युथ फोर्स’ मार्फत सुरक्षा सुदृढ गर्ने

काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न हुनुपर्ने बताएका छन्। झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मतदान केन्द्रमा मतदाताले निर्भय ढंगले मत हाल्न पाउनुपर्नेमा जोड दिए।

“कसैले पनि बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छ,” ओलीले भने, “त्यस्तो प्रयास कसैले गरे सफल हुँदैन, छुट पनि पाउँदैन।” उनले एमाले सधैं स्वतन्त्र र निष्पक्ष निर्वाचनको पक्षमा रहेको दाबी गरे।

‘नेशनल युथ फोर्स’ मार्फत सुरक्षा सुदृढ गर्ने दाबी

सभामा बोल्दै ओलीले पार्टीले गठन गरेको ‘नेशनल युथ फोर्स’ देशको शान्ति–सुरक्षा र संरचनाको संरक्षणका लागि रहेको बताए। विगतमा आन्दोलनका क्रममा राष्ट्रिय संरचनामा क्षति पुगेको प्रसंग उल्लेख गर्दै उनले अब त्यस्तो अवस्था दोहोरिन नदिने दाबी गरे।

“अब कसैलाई पनि सिंहदरबार जलाउने छुट हुँदैन,” उनले भने, “देश पहिलो भन्ने सिद्धान्तका साथ यो फोर्सले अनुशासित रूपमा काम गर्छ।” ओलीका अनुसार उक्त फोर्स चुनाव लक्षित अस्थायी संयन्त्र नभई दीर्घकालीन संरचना हो।

भोलिन्टियर फोर्सको चेतावनी

यसैबीच एमालेअन्तर्गतको नेशनल भोलिन्टियर फोर्सका संयोजक पुष्पराज श्रेष्ठले पार्टीको झण्डामाथि आक्रमण भए प्रतिकार गरिने चेतावनी दिएका छन्। उनले झण्डा जलाउने वा तोडफोड गर्ने गतिविधि दोहोरिए युवा शक्ति परिचालन गरिने बताए।

श्रेष्ठले सरकार र प्रहरी प्रशासनले साना घटनामा समेत प्रभावकारी सुरक्षा दिन नसकेको आरोप लगाउँदै झण्डा जलाउने घटनामा प्रशासन मौन बसेको टिप्पणी गरे। “यदि यस्ता गतिविधि रोकिएनन् भने चुनाव प्रचारका क्रममा पनि प्रतिरोध गर्ने अवस्था आउन सक्छ,” उनले भने।

झापा–५ मा बढ्दो राजनीतिक प्रतिस्पर्धासँगै नेताहरूका अभिव्यक्ति पनि आक्रामक बन्दै गएका छन्। निर्वाचन नजिकिँदै गर्दा दलहरूबीचको प्रतिस्पर्धा र सुरक्षाको प्रश्न प्रमुख बहसको विषय बनेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *