काठमाडौं । सर्वोच्च अदालत ले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार सहितको भ्रष्टाचार मुद्दामा नष्ट भएको मिसिल ९फाइल० पुनः झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुँदै आएको उक्त मुद्दाको मिसिल भदौ २४ मा भएको आगजनीका कारण नष्ट भएपछि अदालतले पुनः प्राप्तिको प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। मिसिल पुनः संकलन भएपछि मात्र मुद्दाको सुनुवाइ अगाडि बढ्नेछ र नयाँ पेसी तोकिनेछ।
गुणस्तरहीन पुल निर्माणको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले मुद्दा दायर गरेको थियो। त्यसमा विशेष अदालत ले हरिनारायण रौनियार र उनका छोरा सुमित रौनियार ९पप्पु० लाई दोषी ठहर गर्दै जनही करिब साढे तीन करोड रुपैयाँ जरिवाना सुनाएको थियो।
उक्त फैसलाविरुद्ध हरिनारायण रौनियारसहित आठ जनाले सर्वोच्चमा पुनरावेदन गरेका थिए। त्यस्तै, विशेष अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै अख्तियारले समेत ११ जनालाई प्रतिवादी बनाएर पुनरावेदन दायर गरेको थियो। दुवै पक्षका पुनरावेदनलाई एकैसाथ राखेर सर्वोच्चले सुनुवाइ गर्दै आएको थियो।
आगजनीका कारण मिसिल नष्ट हुनु न्यायिक प्रक्रियाका लागि गम्भीर विषय मानिएको छ। संवेदनशील भ्रष्टाचार मुद्दामा कागजात हराउनु वा नष्ट हुनु न्याय ढिला हुने कारण बन्न सक्छ। अब पुनः संकलित मिसिलको आधारमा सुनुवाइ अगाडि बढ्ने भएकाले फैसला आउन अझ समय लाग्ने देखिन्छ। रौनियार प्रकरण पूर्वाधार निर्माणमा गुणस्तर र अनुगमनसम्बन्धी प्रश्नसँग जोडिएको मुद्दा भएकाले यसको अन्तिम निर्णयलाई चासोका साथ हेरिएको छ।




