काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सहकारी ठगी प्रकरणमा संलग्नहरूमाथि कानुनी कारबाही गरी पीडितको बचत रकम फिर्ता गरिनुपर्ने बताएका छन्। भैरहवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सहकारी, लघुवित्त र मीटरब्याजका कारण किसान तथा विपन्न वर्ग गम्भीर मारमा परेको उल्लेख गरे। घिसिङले सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्तिलाई लक्षित गर्दै दोषी जो–कोही भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने धारणा राखे। उनले पीडितको रकम सुरक्षित रूपमा फिर्ता गराउन आयोग गठन गरी छानबिन प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरे।
सहकारी ठगी आरोप खेपिरहेका रवि लामिछाने लाई संकेत गर्दै घिसिङले “ठगमाथि कारबाही र पीडितको बचत फिर्ता” नै आफ्नो पार्टीको स्पष्ट एजेन्डा भएको बताए। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि। मा भएको भनिएको करिब ७८ करोड रुपैयाँ हिनामिना प्रकरणमा लामिछानेको नाम जोडिएको विषय अदालतमा विचाराधीन छ। उनीविरुद्ध रुपन्देही जिल्ला अदालतमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा चलिरहेको छ।
पूर्वमन्त्रीसमेत रहेका घिसिङ लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मा सक्रिय रहे पनि समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्ने क्रममा देखिएको असन्तुष्टिपछि अलग भई उज्यालो नेपाल पार्टी गठन गरेका हुन्। उनले आफ्नो पार्टीलाई “नयाँ र ऊर्जाशील शक्ति”का रूपमा प्रस्तुत गर्दै जेनजी आन्दोलनका माग सम्बोधन गर्न स्थापना गरिएको दाबी गरे।
पार्टीका केन्द्रीय सदस्य किरण विकले योग्य उम्मेदवार जनतासमक्ष प्रस्तुत गरिएको दाबी गरे भने रुपन्देही–३ का उम्मेदवार सरोज सिंह चौधरीले राजनीतिक स्थायित्वका लागि उज्यालो नेपाल विकल्प भएको बताए।
चुनावी अभियानका क्रममा सहकारी ठगी मुद्दा प्रमुख राजनीतिक एजेन्डा बन्न थालेको छ। घिसिङले पीडितको रकम फिर्ता र दोषीलाई कारबाही आफ्नो प्राथमिकता भएको दोहोर्याए। सहकारी क्षेत्रको पारदर्शिता, नियमन र जवाफदेहिताबारे बहस चर्किँदै गइरहेका बेला यो मुद्दा चुनावी परिणाममा कत्तिको प्रभाव पार्छ भन्ने चासो बढेको छ।




