काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेशमा प्रभाव घट्दो देखिएको विश्लेषण हुन थालेको छ। २०७९ को निर्वाचनपछि उदाएको नयाँ शक्तिका रूपमा देखिएको रास्वपा यसपटक भने संगठन, नेतृत्व व्यवस्थापन र टिकट वितरणसम्बन्धी विवादका कारण दबाबमा परेको देखिन्छ।
तराई–मधेसका जिल्लाहरूमा रास्वपाको तल्लो तहसम्म सांगठनिक संरचना मजबुत नबनेको स्थानीय विश्लेषकहरू बताउँछन्। कतिपय स्थानमा वडा तथा बुथ तहसम्म कमिटी गठन हुन नसकेको अवस्था छ। वीरगञ्जका अधिवक्ता वीरेन्द्र यादवका अनुसार प्रारम्भिक जनआकर्षणलाई मतदानसम्म कायम राख्न सक्ने प्रभावकारी व्यवस्थापन अभाव देखिएको छ। “मतदाताको रुझान देखिए पनि त्यसलाई निर्वाचन दिनसम्म जोगाइराख्न सक्षम नेतृत्व आवश्यक हुन्छ,” उनले भने।
सिराहाका वरिष्ठ पत्रकार चन्द्रदेव कामती पनि रास्वपाको स्थानीय आधार स्थायी नभएको टिप्पणी गर्छन्। उनका अनुसार रास्वपामा सक्रिय देखिएका धेरै युवा तथा नेता अन्य दलबाट आएका हुन्, जसको दीर्घकालीन प्रतिबद्धता कति बलियो रहन्छ भन्ने प्रश्न उठिरहेको छ। मधेसमा पछिल्लो समय नेपाली कांग्रेस को सक्रियता उल्लेखनीय रूपमा बढेको छ। विभिन्न दल परित्याग गरी कांग्रेस प्रवेश गर्ने क्रम बढ्दा रास्वपाको प्रारम्भिक जनलहर प्रभावित भएको स्थानीय विश्लेषण छ।
यससँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पनि चुनावी सक्रियता बढाउने तयारी गरिरहेका छन्। यी दलहरूको वडा तहसम्म फैलिएको सांगठनिक संरचनाले प्रत्यक्षतर्फ रास्वपाका लागि प्रतिस्पर्धा कठिन बन्ने आकलन गरिएको छ। रास्वपाभित्र देखिएको असन्तुष्टिको प्रमुख कारण टिकट वितरण रहेको बताइन्छ। सुरुदेखि पार्टीमा आबद्ध नेताहरूले अवसर नपाएको गुनासो गरेका छन् भने अन्य दलबाट हालै आएका उम्मेदवारहरूले टिकट पाएको भन्दै आक्रोश व्यक्त गरिएको छ।
मधेस प्रदेशमा ३२ निर्वाचन क्षेत्र रहेका छन्। तीमध्ये अधिकांश क्षेत्रमा पुराना दलबाट आएका उम्मेदवारहरू अघि सारिएकाले ‘नयाँ दल, तर पुरानै अनुहार’ भन्ने प्रश्न उठ्न थालेको छ। यसै कारण केही नेता तथा कार्यकर्ता अन्य दलमा प्रवेश गरेका छन्, जसले रास्वपाको जनआधारमा असर पारेको देखिन्छ।
तर रास्वपाका नेताहरू भने मधेस मात्र नभई देशभर पार्टीप्रति आकर्षण बढिरहेको दाबी गर्छन्। पार्टीका नेता पुरुषोत्तम यादवले ठूला दलका नेताहरू समेत रास्वपामा आउन इच्छुक रहेको बताएका छन्। उनका अनुसार केही व्यक्तिले पार्टी छोड्दैमा समग्र प्रभावमा कमी नआउने र मधेसका सबै ३२ सिटमा प्रतिस्पर्धा गर्ने तयारी भइरहेको छ।
धनुषा–३ का उम्मेदवार डा। राजीव झाले जनकपुर उपमहानगरपालिकाका सबै वडामा कमिटी गठन भइसकेको दाबी गरेका छन्। उनले संगठन विस्तार तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै निर्वाचनसम्म संरचना सुदृढ गर्ने लक्ष्य रहेको बताए। २०७९ को निर्वाचनमा रास्वपाले मधेस प्रदेशमा समानुपातिकतर्फ १ लाख ७ हजार ८४ मत र प्रत्यक्षतर्फ ३२ हजार ५३७ मत प्राप्त गरेको थियो। मधेसमा कुल ३३ लाख ८६ हजार ६२८ मतदाता रहेका छन्। विश्लेषकहरूका अनुसार प्रत्यक्षतर्फ ठूला दलको पकड बलियो रहेकाले रास्वपाले समानुपातिकमा अपेक्षाकृत राम्रो प्रदर्शन गर्न सक्ने सम्भावना छ।
पछिल्लो समय केही स्थानमा दलका झण्डा जलाउने तथा तोडफोडजस्ता गतिविधि सार्वजनिक भएपछि मतदातामा नकारात्मक सन्देश गएको बताइन्छ। जनकपुरकी पत्रकार स्नेहा झाका अनुसार आक्रामक व्यवहारले नयाँ दलप्रतिको भरोसा कमजोर बनाउने जोखिम हुन्छ।समग्रमा, मधेस प्रदेशमा रास्वपाले प्रारम्भिक जनलहरलाई मतमा रूपान्तरण गर्न संगठन सुदृढीकरण, आन्तरिक एकता र प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्ने चुनौती देखिएको छ। निर्वाचन नजिकिँदै गर्दा पार्टीको वास्तविक अवस्था भने मतपरिणामबाटै स्पष्ट हुनेछ।




