राजनीति

निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न काँग्रेसको सरकारलाई आग्रह

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवराज चालिसेले निर्वाचनमा जनताले स्वतन्त्र रूपमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकार सचेत रहनुपर्ने बताए ।

उनले निष्पक्ष निर्वाचन जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै शासनको वैधताको स्रोत नै जनताको मताधिकार भएको बताए । उक्त अधिकारमा कुनै हस्तक्षेप गर्न सरकारलाई छुट नभएको स्पष्ट पार्दै उनले निष्पक्ष वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको दोहोर्‍याए ।

प्रवक्ता चालिसेले भने, “निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न हुनु जनताको नैसर्गिक अधिकार हो । शासनको वैधताको आधार जनताको मताधिकार हो, यसमा दायाँबायाँ गर्ने छुट सरकारलाई छैन । हामीले अहिलेसम्म शंका गरिसकेका छैनौँ, तर निष्पक्ष वातावरण सुनिश्चित गर्नु सरकारको कर्तव्य हो भन्ने कुरामा ऊ सचेत हुन जरुरी छ ।”

पत्रकार सम्मेलनमा उनले विभिन्न दलका नेता तथा कार्यकर्ताहरू, विशेष गरी नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता काँग्रेसमा प्रवेश गरिरहेको दाबी पनि गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *