काठमाडौं । संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा फागुन २१ को निर्वाचनमा चितवन २ बाट विजयी भए पनि रास्वपा सभापति रवि लामिछाने सांसदको शपथ खान पाउँदैनन् । सांसदकै शपथ लिन नपाउने व्यक्ति अहिले उम्मेदवार बनेको भन्दै रविको चौतर्फी आलोचना भइरहेको छ ।
चितवन २ कै मतदाताहरू पनि रविले रास्वपाबाट अर्कै व्यक्तिलाई उठाएको भए हुन्थ्यो भनिरहेका छन् । तर रवि आफूमाथि षड्यन्त्र भएको र राजनीतिक प्रतिशोध साँधिएको दाबी गर्दै आएका छन् । उम्मेदवारी दर्ता भएकै दिन रविले पर्सा जिल्ला अदालतमा सानो पाइला सहकारी ठगी कसुरमा उनी एक करोड रुपैयाँ धरौटी बुझाएर निस्किएका थिए ।
आफैं सहकारी ठगीमा अदालतमा धरौटी बुझाएर निस्किएका रविले पार्टीबाट खराब व्यक्तिले चुनाव जितेमा पछि फिर्ता बोलाइने बताएका छन् । आइतबार चितवनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले मतदातासामु खराब सांसदलाई फिर्ता बोलाउने वाचा गरे ।
‘म आज चोकमा उभिएर भन्छु, यदि हामीले राम्रोसँग छान्न नपाएर, रोज्न नभ्याएर रास्वपाले जितेर गएका मानिसहरू खराब परेछन् भने सांसद बनेपछि पनि फिर्ता बोलाउनेछौँ । हाम्रो त नजिर नै छ, ७२ घण्टाभित्र फिर्ता गराएको,’ उनले भने ।
रास्वपाले बोक्नुपर्ने कुनै पनि व्यापारी वा व्यवसायी नरहेको उनले बताए । लामिछानेले भने, ‘कुनै व्यापारी र बिचौलियालाई हामीले पोस्न पर्दैन । बोक्न पर्दैन, अहिलेसम्म बोकेका पनि छैनौं ।’ तर रविले यसो भनिरहँदा बालेन्द्र साह बालेनले करेन्ट चाउचाउका मालिक मालपानीसँग आठ करोड मूल्य पर्ने कार उपहार पाएको भन्ने कुरा बिर्सिए । पछिल्लो समय रास्वपाबाट उदयपुर १ मा उम्मेदवार बनेका पारस गेलालमार्फत रास्वपा प्रवक्ता मनिष झाले एउटा गाडी टिकट मिलाइदिएबापत पाएको रास्वपाकै नेता कार्यकर्ता बताउँछन् । गेलाल गाडी व्यापारी हुन् ।
कुनै पार्टीले चाहेमा तत्काल उसलाई स्पष्टीकरण सोधेर कारबाही गर्न सक्छ । सांसदबाट बर्खास्त गर्दै पार्टीबाट निकाल्न सक्छ । समानुपातिक सांसदलाई हटाउन सक्छ । तर यदि कुनै सांसद अदालत पुगेमा उसको पद सुरक्षित गरिदिन सक्छ । विगतका नजिरले पनि यसलाई प्रस्ट पारेको छ । तर रविले चितवन २ मा मतदातासँग सहानुभूति बटुल्न सांसदलाई फिर्ता बोलाउने भ्रम छरेको भन्दै उनको आलोचना हुन थालेको छ । अरुलाई फिर्ता बोलाउँछु भन्ने रविले आफैंबाट त्यसको सुरुवात हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ ।




