काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन रहस्यमयी पात्रका रूपमा परिचित छन् । यत्रो चुनावी प्रचारमा पनि उनले आफ्नो स्पष्ट एजेन्डा र विचार प्रस्तुत गर्न सकेका छैनन् ।
रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको छ । जसले रास्वपामा एउटा उभार पनि ल्याएको छ । तर त्यसका पछाडि के कस्ता कारण छन् भन्नेमा नेपाली नागरिकले भेउ पाउन सकिरहेका छैनन् ।
बालेनले पूर्वदेखि पश्चिमसम्म रोड शो गरे । कहीँ पनि बोलेनन् । एक दुई ठाउँमा बोले, तर विवादित बने । कहीँ तीन मिनेट बोले । कतै भइरहेका कामबारे अनभिज्ञता देखिए । डिजिटल लोकप्रियताको कारण ‘नेता’ करार गरिएका उनको ज्ञान, दर्शन, विचारबारे अझै जनताले भेउ पाउन सकेको देखिँदैन । जति खुल्यो त्यति विवादित हुने डरले बालेन प्रायः बोल्दैनन् । त्यही भएर अहिले युरोपियन युनियन र अमेरिकी विचौलियाले बालेनलाई ‘प्रोजेक्सन’ गरिरहेका छन् ।
बालेन आफैं अमेरिकी युथ काउन्सिलका सदस्य हुन् । त्यही भएर उनको चुनावी प्रचार गर्न र आर्थिक सहयोगमा कुनै कमी देखिएको छैन । रास्वपाले अहिले बार्बरा फाउन्डेसन र अमेरिकन युथ काउन्सिलबाट करोडौंको सहायता प्राप्त गरिरहेको सोही पार्टीका असन्तुष्ट नेताहरूले बताउन थालेका छन् । अहिले बालेनको नाममा अमेरिकाको पोलिमार्केटमा सट्टाबाजी लाग्न थालेको छ । बालेन प्रधानमन्त्री बन्ने ६० प्रतिशत सम्भावना रहेको भन्दै अमेरिकी बजारमा सट्टाबाजी लाग्नुले उनी कहाँबाट कसरी परिचालित रहेका छन् भन्ने पुष्टि हुन्छ ।
त्यस्तै, समानुपातिक र प्रत्यक्ष उम्मेदवारको प्राइमरी इलेक्सनका नाममा उठाइएको पैसा र रवि लामिछाने कारागारमा रहँदा उनलाई न्याय दिन भन्दै उठाइएको चन्दा हिनामिना भएको सोही पार्टीका नेताहरुले बताएका छन् । यसरी एकपछि अर्को रहस्यमयी काम गरेपछि अहिले त्यो पार्टी छाड्नेको लर्को लागेको छ ।
रास्वपामा अहिले रवि र बालेनको दुई गुट छ । यो गुट निर्वाचनपछि झन् झांगिँदै जाने निश्चित छ । रास्वपाले चुनावमा बालेनकै नाममा समानुपातिक मत बटुल्दै छ । निर्वाचन सकिएपछि सांसद कसलाई बनाउने भन्नेमा बालेन र रविबीच महाभारत हुने र त्यसले पार्टीमा ठूलो अविश्वासको वातावरण बन्ने देखिन्छ । किनभने बालेनले आफ्ना कोटरीका जसलाई पायो त्यसलाई समानुपातिक सूचीमा राखेका छन् । भोलि तिनीहरूकै नाममा बखेडा निस्किने निश्चित छ । त्यसबेला रविको हात माथि पर्छ । उनकै सही चल्ने भएकाले बालेनलाई ठूलो सकस हुने अहिलेदेखि नै विश्लेषण हुन थालेको छ ।
बालेनले अहिलेसम्म रास्वपा वरिष्ठ नेताको पगरी गुथे पनि १० मिनेट मात्र त्यो कुर्सीमा बसेका छन् । अहिलेसम्म नेताको शपथ लिएका छैनन् । त्यसपछि पार्टी कार्यालय पनि गएका छैनन् । उनको चुनावी क्याम्पेन कुपण्डोलस्थित कुमार बेनको घरबाटै चलिरहेको छ । त्यसका लागि बालेनको सचिवालय त्यहीँ राखिएको छ । रास्वपामै पनि बालेन रहस्यमयी पात्र भएको भन्दै धेरै नेता कार्यकर्ता पार्टी छाडेर हिँडेका छन् । कोही निस्कने तयारीमा छन् ।
एउटै जंगलमा दुईवटा बाघ भएमा जस्तो अवस्था उत्पन्न हुन्छ, भोलिका दिनमा त्यस्तै हविगत रास्वपाले बेहोर्नुपर्ने भन्दै आगामी ६ देखि एक वर्षसम्म रवि र बालेनबीच कटुता उत्पन्न भएर पार्टी नै विभाजन हुने जोखिमसम्मको आकलन गर्न थालिएको छ । त्यही भएर अहिले रास्वपाले जसरी चुनावी प्रोजेक्सन गरिरहेको छ, त्यसमा व्यापक गिरावट आइरहेको छ । सुरुमा रास्वपाले १५१ सिट जित्ने प्रक्षेपण गरेको थियो । अहिले त्यो घटेर १०० मा झरेको छ । निर्वाचनको दिनसम्म घटेर ६० देखि ७० सम्ममा आइपुग्ने रास्वपाकै नेताहरुले बताउन थालेका छन् ।




