काठमाडौं । वैकल्पिक राजनीति र देशलाई चटकको भरमा परिवर्तन गर्ने बाचासहित विगतको निर्वाचनमार्फत चौथो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जेन(जी) आन्दोलनपछिको निर्वाचनमा तडकभडक गर्दै पुराना राजनैतिक दलका उम्मेदवार र निर्वाचन आयोगको निर्वाचन आचारसंहित विपरीत चुनावी प्रचार प्रसार प्रतिस्पर्धी उम्मेदवारको चुनावी प्रचारप्रासार बिथोल्ने गतिविधिमा सक्रिय हुँदै आएको छ । सहकारी ठगी प्रकरणमा प्रत्यक्ष रुपमा मुछिएका रास्वपा सभापति रवि लामिछानेमाथि कयौँ प्रश्न सार्वजनिक रुपमा उठेपछि त्यसको प्रतिरोधमा उत्रेका रास्वपा नेता तथा कार्यकर्ताहरु आक्रमक भएर निर्वाचन विथोल्ने गतिविधिमा लागेपछि अहिले रास्वपाको चौतर्फी आलोचना भएको छ ।
जेन(जी)आन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागी भएका रास्वपाका नेता तथा कार्यकर्ताहरु अहिले नेपाली कांग्रेस र नेकपा कम्युनिष्ट पार्टी एमालेमाथि आक्रमक रुपमा गाली ग्लोजमा लागेका छन् । नेपालबाट नेपाली कांग्रेस र नेकपा एमालेलाई राजनीतिबाट सन्यास लिने बनाउने आन्तरिक रणनीतिका साथ आन्दोलनमा होमिएको रास्वपा जेन(जी) आन्दोलनपछि कांग्रेस एमालेको निर्वाचन माहोल र कांग्रेस एमालेप्रति बढेको जनताको विश्वास देखेर पनि रास्वापा चुनाव विथोल्ने रणनीतिमा लागेको स्रोतको दाबी छ । नेपाली कांग्रेस र नेकपा एमालेले सोही कुरा उल्लेख गर्दै संकटको समयमा निर्वाचन बिथोल्ने र पुनः देशलाई थप संकटमा लैजाने रणनीतिको आन्तरिक जालोमा रास्वपा लागेको बताउँदै आएका छन् ।
चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा रास्वपाको आक्रामक शैली, भ्रामक प्रचार , उत्तेजक अभिव्यक्ति र सडक केन्द्रित गतिविधिमार्फत माहोल तताउने रणनीति भएको प्रष्टै देखिन्छ । आफ्ना उम्मेदवार कमजोर बन्दै गएको संकेतपछि वातावरण ध्रुवीकरण गर्ने प्रयास भइरहेको विपक्षी दलहरूको दाबी छ।
झण्डा दहनदेखि सडक प्रदर्शनसम्म
केही दिनअघि दाङको तुलसीपुरमा नेकपा (एमाले) को ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनाले राजनीतिक तापक्रम ह्वात्तै बढायो। उक्त घटनापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट संगठनहरू सडकमा उत्रिए। नेशनल भोलेन्टियर्स फोर्सले कारबाही नभए प्रतिवाद गर्ने चेतावनी दियो भने अनेरास्ववियुले पनि घटनाको निन्दा गर्दै निष्पक्ष छानबिनको माग गर्यो। प्रहरीले नेकपा एमालेको झण्डा जलाएको आरोपमा तुलसीपुर–७ का बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिसकेको छ । तर घटनाले दलहरूबीचको प्रतिस्पर्धा वैचारिक बहसबाट सडक टकरावमा रूपान्तरित हुने संकेत पनि उतिकै छ ।
उत्तेजक अभिव्यक्ति र मतदातामाथि दबाबः
रास्वपाका केही उम्मेदवारका अभिव्यक्तिले थप विवाद निम्त्याएको छ। सुनसरी–३ का उम्मेदवारले रास्वपालाई मत नदिनेहरूलाई ‘देशविरोधी’ भनेपछि कार्यक्रममै तनाव उत्पन्न भयो। सर्लाही–४ का उम्मेदवारले चुनाव नजिते आत्मदाह गर्ने चेतावनी दिए। ललितपुर–२ का उम्मेदवारले मतदातालाई ‘हनुमान’ संज्ञा दिए। यी घटनाहरुले पनि चुनावी बहस नीतिगत मुद्दाबाट हटेर भावनात्मक र उत्तेजक दिशातर्फ मोडिएको देखाउँछन्। विश्लेषकहरूका अनुसार जब पार्टी संगठनात्मक रूपमा अस्थिर वा परिणामप्रति अनिश्चित हुन्छ, तब ‘आक्रोश’ समर्थक परिचालनको उपकरण बन्छ।
नेतृत्वको विवाद र रणनीतिक ध्रुवीकरण
रास्वपाका सभापति रवि लामिछाने आफैं विभिन्न कानुनी विवादमा छन्। यही पृष्ठभूमिमा पार्टीले ‘व्यवस्था विरुद्धको विद्रोह’लाई पुनः चर्को रूपमा उठाउँदै आएको छ। तर आलोचकहरू भन्छन्—यो विद्रोह नीतिगत स्पष्टताभन्दा भावनात्मक उत्तेजनामा आधारित छ। उता केपी शर्मा ओलीले रास्वपालाई ‘आधारविहीन, उम्लिएको पार्टी’ भन्दै चुनाव हार्ने संकेतपछि वातावरण विथोल्न खोजेको बताएका छन् । उनका अनुसार हारको मनोवैज्ञानिक दबाबले झण्डा दहन र उत्तेजक गतिविधि बढेका हुन्।
सरकार र आयोगको चिन्ता
निर्वाचन आयोग र सरकारका तर्फबाट शान्तिपूर्ण, निष्पक्ष र भयरहित मतदान सुनिश्चित गर्न सबै दललाई संयम अपनाउन आग्रह गरिरहेको छ तर आयोग र सरकारको निर्देशन र आग्रहलाई अस्वीकार गर्ने मनोविज्ञान रास्वपाको भएको बुझिएको छ । सोही सुरक्षा निकायले अतिसंवेदनशील क्षेत्र पहिचान गरी निगरानी बढाएको जनाएको छ।
के रास्वपाको आक्रोश लोकतान्त्रिक असन्तोषको अभिव्यक्ति हो ? वा सम्भावित पराजयको मनोवैज्ञानिक प्रतिक्रियास्वरूप सिर्जित रणनीतिक ध्रुवीकरण ? अहिले यस्ता सयौँ प्रश्न चिह्न खडा भएका छन् । सामाजिक संजालदेखि विभिन्न संघसंस्थादेखि राजनीतिक विश्लेषकहरुले समेत सोही कुरा बताउँदै आएका छन् । रास्वापाले अन्य दलका उम्मेदवारले चुनावी प्रचारमा राखेका झण्डामा समेत केटाकेटीहरुलाई जम्मा गरेर पिसाव गर्न लगाएका दृष्यहरु समेत सामाजिक संजालमा छरपस्ट बनेका छन् । रास्वपाभित्र विभिन्न डिग्री, पिएचडी हासिल गरेकादेखि कलाकार र विज्ञहरुको टोली छ तर राजनैतिक संस्कारलाई लिएर विश्लेषण गर्दा शून्य विचार र अनपढ जस्तो गतिविधि भएको आलोचकहरुले टिप्पणी गर्दै आएका छन् । उनीहरुले सोही अनुसारको न्यारेटीभ्स बनाएपछि यस्तो विश्लेषण हुन थालेको छ । निर्वाचनको प्रचारप्रसारमा हिँडेका केही व्यक्तिहरुको मृत्यु समेत भइसकेको छ । ठूलो भिड जम्मा गर्ने उत्तेजना फैलाउने र कार्यकर्ताहरुलाई दुर्घटनामा पार्ने यो रास्वपाको गतिविधिमाथि धेरै प्रश्न उठेका छन् ।
रास्वपाका नेता तथा कार्यकर्ताहरु रास्वपाको अनैतिक ब्यबहार र अपारदर्शी गतिविधिका कारण दिनप्रतिदिन पार्टी परित्याग गर्दै नेपाली कांग्रेस पार्टी प्रवेश गर्न थालेका छन् । रास्वपा त्याग गरेका नेता तथा कार्यकर्ताहरुले रास्वपाको गतिविधिमाथि चौतर्फी आलोचना गर्न थालेका छन् । रास्वपाले काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)लाई रास्वपा प्रवेश गराएर बरिष्ठ नेताको ट्याग दिएपछि बालेन चर्चा चुलिएको थियो । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि बढाएको छ । तर नेपाली कांग्रेसले पनि सभापति गगन थापालाई प्रधानमन्त्तीका रुपमा अघि सारेपछि थापाको पक्षमा माहोल तातिएपछि रास्वपाले चुनाव स्थगित गराउनका लागि विभिन्न फण्डा रच्न व्यस्त रहेको जानकारहरु बताउँछन् । पछिल्लो समयमा कांग्रेस सभापति नै भावी प्रधानमन्त्रीको रुपमा विजय हुने समेत चर्चा हुन थालेको छ ।
लोकतन्त्रमा कडा आलोचना र विरोध स्वाभाविक हो। तर झण्डा दहन, मतदातालाई धम्की र सडक टकरावले राजनीतिक संस्कृति परिपक्व हुने होइन, थप अस्थिर बन्ने खतरा बढाएको छ । चुनाव परिणाम जे आए पनि, जिम्मेवार राजनीतिक व्यवहार नै लोकतन्त्रको दीर्घकालीन आधार हो—यो सन्देश अहिले सबै दलका लागि समान रूपमा लागू हुन्छ र हुनुपर्छ ।




