काठमाडौं । तनहुँ क्षेत्र नम्बर–१ मा राजनीतिक प्रतिस्पर्धा चर्चामा छ । राष्ट्रपति बनेपछि रामचन्द्र पौडेलले खाली गरेको क्षेत्रमा २०८० सालको उपनिर्वाचनमा कांग्रेसका नेता गोविन्द भट्टराई मैदानमा उत्रिएका थिए। तर त्यसबेला स्वर्णिम वाग्लेसँग पराजित हुनुपरेको थियो। अहिले फेरि दुबै नेताबीच सीधा प्रतिस्पर्धा हुने भएपछि चुनावी माहोल रोचक बनेको छ।
उपनिर्वाचनअघि कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका वाग्लेले त्यसबेला जित हात पारेका थिए। भट्टराईले २० हजार १२२ मत ल्याए पनि विजय हासिल गर्न सकेनन्। यसपटक भने उनी ‘पुरानो हारको हिसाब बराबर’ गर्ने रणनीतिसहित चुनावी मैदानमा छन्।
तनहुँका ग्रामीण बस्तीहरूमा खानेपानी योजनामा सक्रिय भूमिका खेलेका कारण भट्टराई जिल्लामा ‘पानी मान्छे’ भनेर चिनिन्छन्। सुगमदेखि दुर्गम गाउँसम्म पानीका योजना पुर्याएको भन्दै स्थानीय तहमा उनको छुट्टै पहिचान बनेको छ। कांग्रेस नेताहरूका अनुसार जिल्लाका धेरै खानेपानी आयोजनामा उनको पहल रहेको छ। २०२० सालमा तनहुँको व्यास नगरपालिका–११ रामथुम्कीमा जन्मिएका भट्टराई विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट राजनीति सुरु गरेका उनी २०५३ देखि २०५७ सालसम्म दुई कार्यकाल अध्यक्ष बनेका थिए। पार्टीका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका उनी अहिले संघीय संसदमा प्रवेशको प्रयासमा छन्।
सो क्षेत्रमा गत उपनिर्वाचनमा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल थिए भने यसपटक एमालेले उम्मेदवार परिवर्तन गर्दै भगवती न्यौपानेलाई अघि सारेको छ। यसले चुनावी समीकरणमा केही परिवर्तन ल्याएको विश्लेषण गरिएको छ।
आईटी हब र अस्पतालको प्रतिबद्धता
भट्टराईले यसपटक तनहुँलाई ‘नेपालकै आईटी हब’ बनाउने एजेन्डा अघि सारेका छन्। युवाहरूको आईटी क्षेत्रमा देखिएको उत्साहलाई अवसरमा रूपान्तरण गर्ने योजना उनले सार्वजनिक गर्ने बताएका छन्। साथै, दमौलीमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने प्रतिबद्धता पनि दोहोर्याउँदै मतदातासँग समर्थन मागिरहेका छन्।
तनहुँ–१ को यो प्रतिस्पर्धा केवल जित–हारको लडाइँ मात्र होइन, अघिल्लो हारको बदला र नयाँ एजेन्डाबीचको संघर्षका रूपमा हेरिएको छ। अब मतदाताले कसलाई रोज्छन्, त्यसले आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ।




