देश

फागुन २१ नजिकिँदै: फरक–फरक शैलीमा मतदाता रिझाउन उम्मेदवारको तीव्र दौड

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवार पनि प्रचारप्रसारमा व्यस्त छन् । मत आफ्नो पक्षमा पार्न उनीहरू सबै आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेका छन् । यसले गाउँघरमा चुनावी चहलपहल बढेको छ ।

उम्मेदवारका प्रचार शैली पनि पृथक छन् । प्रत्यक्ष भेट वा चिनजान नै नभएका केही प्रत्याशी मतादाताका खेतबारी जोत्न, मल बोक्न, सागसब्जी केलाउनेदेखि बिरामी बोक्नेसम्मका काममा सक्रिय भएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा छरपस्ट भएका छन् ।

उम्मेदवारहरुले आआफ्नो परिचय दिने क्रममा पहिले पनि भेटेको, ‘फलाना’को नाताको मान्छे हुँ भनेर मत मागिरहेको सामाजिक सञ्जालमा हामी सबैले देखेका छौँ । प्रत्याशीहरूले मुलुकको राजनीतिक अवस्था र आगामी मार्गचित्रबारे जनतालाई बुझाउँदै निर्वाचित आफू निर्वाचित भएमा मतदाताका अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलगायत उम्मेदवारले मतदाताको विश्वास जित्न अपनाएको फरक शैली र अभिव्यक्तिलाई धेरै राजनीतिक विश्लेषकहरूले बहसको विषय बनाएका छन् ।

पूर्वपत्रकार ऋषि धमला, पूर्वमन्त्री महावीर पुन, एमाले नेता सूर्यबहादुर थापा, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, राप्रपाका ज्ञानबहादुर शाहीलगायत उम्मेदवार फरक शैलीको प्रचारका कारण चर्चामा छन् । कतिपय उम्मेदवार मतदातासँग साक्षात्कारमा छन् भने केही उम्मेदवारले सामाजिक सञ्जाललाई प्रचारको मुख्य माध्यम बनाएका छन् ।

विसं २०७९ को निर्वाचनबाट प्रमुख दलका रुपमा उदाएका नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले देशका विभिन्न स्थानमा आमसभा गरिरहेका छन् ।

पत्रकार राजेन्द्र दाहाल प्रविधिका कारण उम्मेदवारहरु मतदातामाझ सहजै पुगिरहेका बताउछन् । “समाजको प्रवृत्तिलाई प्रविधिले विस्तार गरिदिएको मात्रै हो । लक्ष्य उही हो, मतदाताको भोट संकलन गर्ने”, उनी भन्छन् ।

यही फागुन २१ गते १६५ स्थानका लागि हुने निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार प्रत्याशी भएका छन् । यो निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले भोट हाल्ने अपेक्षा निर्वाचन आयोगले गरेको छ । यसका लागि १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण भएका छन् ।

पूर्वप्रशासक देवकुमारी गुरागाईं सभ्य ढङ्गले प्रचार गर्नुपर्नेमा जोड दिन्छन् । “लोकप्रिय हुने नाममा अहिले अपनाइएका प्रचारका शैली परिपक्वताको कमी देखिएको समाजले महसुस गरिरहेको छ”, उनी भन्छन्, “सरल, शान्त र कूटनीतिक शैलीबाट मतदाताको विश्वास जित्न सकिन्छ ।”

आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)का महासचिव कृष्णमान प्रधान प्रचार र शैली मतदातालाई स्वच्छ मतदानका लागि नभई ‘अल्मल्याउने’ खालको भएको टिप्पणी गर्छन । “मतदातालाई अन्योलमा पार्न हुँदैन, उम्मेदवारले मतदातालाई आफ्नो मार्गचित्र देखाउन सक्नुपर्छ”, उनी भन्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *