राजनीति

सर्लाही–४ मधेशकै उत्कृष्ट क्षेत्र बनाउने कांग्रेस सभापति थापाको प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई आगामी वर्षभित्र मधेशकै उत्कृष्ट क्षेत्र बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। घरदैलो कार्यक्रम र स्थानीय मतदातासँग प्रत्यक्ष संवादका क्रममा उनले क्षेत्रको विकास, सांस्कृतिक संरक्षण र जनसेवामा विशेष ध्यान दिने बताए।

थापाले काठमाडौंको कमलपोखरीमा छठ पूजा सुरु गर्ने व्यक्ति आफू भएको दाबी गर्दै मधेश र काठमाडौंबीच भावनात्मक र सांस्कृतिक सम्बन्ध मजबुत पार्न निरन्तर पहल गर्दै आएको स्मरण गरे। उनले भने, “म यहाँको हुँ, यहाँको संस्कृतिमा आफूलाई डुबाउनुपर्छ। अब समस्या मात्र उठाएर सीमित रहने होइन, समाधान गरेरै छाड्नेछु।”

उहाँको चुनावी यात्रा गतिवान देखिएको छ। घोषणापत्र सार्वजनिक गरेलगत्तै मध्यराति जनकपुर पुगेर स्थानीय सभालाई सम्बोधन गरेका थापाले तराई–मधेस केन्द्रित अभियानमा सक्रियता बढाएका छन्। आगामी २१ फागुन हुने प्रतिनिधिसभा निर्वाचनमा उनी सर्लाही–४ बाट उम्मेदवार छन्।

थापाको प्रतिस्पर्धा रोचक छ। यसै क्षेत्रबाट अमरेश कुमार सिंह रास्वपाबाट चुनावी मैदानमा उत्रिएका छन्। पूर्व कांग्रेस नेता रहेका सिंह अहिले मतदाताको दृष्टिमा असक्षम उम्मेदवारका रूपमा चित्रित भइरहेका छन्। कांग्रेसले यस चुनावका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। प्रतिज्ञापत्रमा भिजन १० अन्तर्गत सुशासन, उत्पादनमुखी अर्थतन्त्र, युवा रोजगार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, दिगो पूर्वाधार, वातावरण संरक्षण, डिजिटल रुपान्तरण, पर्यटन, खेलकुद, समावेशी विकास र नेपाली डायस्पोरासँगको अटुट सम्बन्ध जस्ता महत्वपूर्ण विषय समेटिएका छन्।

प्रतिज्ञापत्र र गगन थापाको सक्रिय चुनावी दौडाहले सर्लाही–४ मा मतदाताको मन जित्ने र मधेशको स्थानीय विकासमा प्रभावकारी नेतृत्व प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *