देश

रास्वपाले ‘सूर्य’ अंकित झण्डा जलाएपछि देशभर एमालेको विरोध प्रदर्शन,लाग्यो बालेन शाह मुर्दावादको नारा

काठमाडौं। दाङको तुलसीपुरमा ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनाले चुनावी माहोल थप तातेको छ। घटनाको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र उसका भातृसंगठनहरू देशका विभिन्न शहरमा सडकमा उत्रिएका छन्। मसाल जुलुस, कालो झण्डा प्रदर्शन र विरोध र्‍यालीमार्फत उनीहरूले कडा कारबाहीको माग गरेका हुन्।

एमालेले बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले दाङको तुलसीपुरमा आफ्नो चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीले विज्ञप्ति जारी गर्दै घटनालाई अराजक र आपराधिक गतिविधि करार गरेको छ। एमालेका कार्यकर्ताहरुले बालेन मुर्दावादको नारा लगाएका छन् । उनीहरुले राँके जुलुस पदर्शन गर्दै पहिला संसद भवन जल्यो,पछि गोली चल्यो भन्दै आक्रोष व्यक्त गरेका छन् । गत भदौ २३ र २४ को जेन(जी) आन्दोलनमा बालेनले कोठामा बसेर आन्दोलन हिशात्मक बनाउन भूमिका खेलेको आरोप छ ।

दाङसहित प्रमुख शहरहरूमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु र स्वयंसेवी दस्ताहरूले मसाल जुलुस निकालेका छन्। भातृसंगठनहरूले दोषीमाथि तत्काल कारबाही नभए सशक्त प्रतिवादमा उत्रने चेतावनी दिएका थिए। त्यसपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको हो।

नेपाल प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोका आधारमा अनुसन्धान अघि बढाइएको र अन्य संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

एमालेले झण्डा जलाउने कार्यलाई लोकतन्त्र, संविधान र जनभावनामाथिको आक्रमणको संज्ञा दिएको छ। पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जारी गरेको वक्तव्यमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य नाराबाजी गरिएकोप्रति आपत्ति जनाउँदै कानुनी कारबाहीको माग गरिएको छ।

प्रहरीले भने निर्वाचनको समयमा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको छ। चुनाव नजिकिँदै गर्दा दलहरूबीचको प्रतिस्पर्धा सडकसम्म पुगेको संकेत देखिएको छ। अब अनुसन्धानको निष्कर्ष र कानुनी प्रक्रिया कसरी अघि बढ्छ भन्नेमा राजनीतिक वृत्तको चासो केन्द्रित भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *