देश

देशलाई निकास दिन शान्तिपूर्ण निर्वाचन सफल पार्न सबै निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक

काठमाडौं । फागुन २१ नजिकिँदै जाँदा देश चुनावी माहोलले तातेको छ। सभाहरू, नाराबाजी, सामाजिक सञ्जालका भिडन्त र आरोप–प्रत्यारोपले राजनीतिक वातावरण थप चर्किएको छ। तर यही बीचमा उठिरहेको मुख्य प्रश्न हो—यो प्रतिस्पर्धालाई कसरी शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउने? गत भदौ २३ र २४ गते भएको जेन(जी) आन्दोलबाट करोडौँको भौतिक तथा मानवीय क्षेति भयो । खरानीबाट नेपालाई हरियाली पार्दै मुलुकलाई निकास दिन अब चुनावी प्रचारप्रसार शान्तिपूर्ण,रचनात्मक र निर्वाचन आयोगले तोकेको मापदण्डलाई औपचारिकता दिदैँ निर्वाचन सफल पार्नु सबै सभ्य नागरिकको कतव्र्य हो ।

दाङको घोराहीमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध कालो झण्डा प्रदर्शन भयो। विरोधमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिए पनि घटनाले चुनावी तापक्रमको संकेत दियो। अघिल्लो रात एमालेको ‘सूर्य’ अंकित झण्डा जलाइएको भिडियो सार्वजनिक भएपछि तनाव थप बढेको थियो।

घटनापछि प्रहरीले तुलसीपुरका एक व्यक्तिलाई झण्डा जलाएको आरोपमा पक्राउ गरेको जनाएको छ। दलहरूबीचको प्रतिस्पर्धा लोकतन्त्रको स्वाभाविक प्रक्रिया भए पनि असहिष्णुता र उत्तेजनाले सामाजिक सद्भाव खल्बल्याउने जोखिम बढाएको देखिन्छ। एमालेनिकट संगठनहरूले कारबाहीको माग गरेका छन् भने रास्वपाले राजनीतिक प्रतिशोधको राजनीति गर्न खोजेको देखिन्छ । देश परिवर्तन र नेपाललाई उच्च संस्कारमा डो¥याउने बाचा गरेको पार्टीले आगामी निर्वाचनलाई सफल पार्न सबै मतदाता प्रतिपर्धी उम्मेदवारहलाई सुझाव दिदैँ अघि बढ्नुको विकल्प देखिदैँन् ।

यता, निर्वाचन व्यवस्थापनको मोर्चामा निर्वाचन आयोग तयारीको अन्तिम चरणमा पुगेको छ। देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। स्वयंसेवकहरू घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत मतदान प्रक्रिया बुझाइरहेका छन्। आयोगले डिजिटल प्लेटफर्ममार्फत सयौं सामग्री सार्वजनिक गर्दै मिथ्या सूचना न्यूनीकरण र आधिकारिक जानकारी प्रवाहमा जोड दिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ सम्पन्न भई अधिकांश जिल्लामा ढुवानी भइसकेको छ। उम्मेदवारहरूले बैंक खाता खोल्ने क्रम बढेको छ भने दर्जनौं दलले आ–आफ्ना घोषणापत्र सार्वजनिक गरिसकेका छन्। निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा स्पष्टीकरण सोध्ने र निगरानी गर्ने काम पनि तीव्र बनाइएको आयोगले जनाएको छ।

यसैबीच, रामप्रसाद भण्डारीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवाला पक्षको सहयोग अपरिहार्य रहेको बताएका छन्। राजनीतिक दल, उम्मेदवार, सुरक्षाकर्मी, सञ्चारमाध्यम र नागरिक समाज सबैले संयमता अपनाए मात्र निर्वाचन उत्सवमय बन्ने उनको भनाइ छ। सो विषयलाई आत्मसात गर्दै सबै नागरिकहरुले निर्वाचनलाई सभ्य बनाएर सम्पन्न गराउन सरकारलाई सहयोग गर्नु नै उचित विकल्पका रुपमा हेरिएको छ । निर्वाचनका लागि राज्यको लाखौँ रुपैयाँ खर्च भइसकेको छ । सो विषयलाई समेत ध्यानमा राखी मतदाता,उम्मेदवार नेता तथा कार्यकर्ताले अहम भूमिका खेल्नुपर्छ । लोकतन्त्र,संविधानको रक्षा,राष्ट्रिय सुरक्षा ,राष्ट्रिय अखण्डता र सावैभौम सत्ताको रक्षाका लागि सबैले तोकिएको समयमा निर्वाचन सम्पन्न गरेर देशलाई थप अघि बढाउने विषयलाई सबैले प्राथमिकता दिनु अपरिहार्य छ ।

चुनाव लोकतन्त्रको उत्सव हो—तर त्यो उत्सव व्यवस्थित हुन राज्य संयन्त्र मात्र होइन, दलहरू स्वयं जिम्मेवार हुनुपर्छ। नाराबाजी, झण्डा जलाउने वा उत्तेजक अभिव्यक्तिले मतदाताको विश्वास घटाउँछ र देशलाई असुरक्षातिर धकेल्छ । त्यसको सट्टा मुद्दा, नीति र कार्यक्रमको प्रतिस्पर्धा आवश्यक छ।

फागुन २१ को मतदान केवल मतपत्रमा छाप लगाउने दिन मात्र होइन, यो राजनीतिक संस्कारको परीक्षा पनि हो। शान्ति, संयम र सहिष्णुतालाई प्राथमिकता दिन सके मात्र निर्वाचन सफल मात्र होइन, उदाहरणीय बन्न सक्छ। जेनजी आन्दोलनपछिको निर्वाचन शान्तिपूर्ण वातावरण पारदर्शी रुपमा सम्पन्न गर्न सके अन्तराष्ट्रिय जगतमा समेत महत्वपूर्ण सन्देश जाने र नेपालको शिर थप उच्चाईमा पुग्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *