देश

रविले भारतीय राजदूतसँग गोप्य मन्त्रणापछि भारुको विनिमयदर पुनरावलोकन गर्ने वाचा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भारतसँगको विनिमयदर पुनरावलोकन गर्ने चुनावी घोषणापत्रमा उल्लेख गरेपछि तरंग सिर्जना भएको छ । रास्वपाको चुनावी घोषणापत्रमा आगामी निर्वाचनपछि सरकार गठन भएको अवस्थामा भारतसँगको विनिमयदर परिवर्तन गर्ने उल्लेख छ ।
रास्वपाको आगामी निर्वाचनका लागि बिहीबार सार्वजनिक वाचापत्रमा भारतसँगको विनिमयदर अध्ययन र पुनरावलोकन गर्ने लेखिएको छ । ‘भारतीय रुपैयाँसँगको तीन दशकदेखि स्थिर विनिमयदर कायम रहेकोमा विशिष्ट अन्तर्राष्ट्रिय प्राज्ञहरूसमेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन गर्नेछौं,’ रास्वपाको वाचापत्रमा लेखिएको छ ।

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह बालेन, उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतका नेताहरूले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सार्वजनिक गरेको वाचापत्रमा उक्त कुरा उल्लेख छ ।अहिलेसम्म कांग्रेस, एमाले र नेकपा (तत्कालीन माओवादी र एकीकृत समाजवादी), जसपालगायत दलले भारुको विनिमयदर पुनरावलोकन सम्बन्धमा कुनै घोषणा वा वचनबद्धता गरेका छैनन् ।

नेपालमा कांग्रेसले दुई तिहाइ र बहुमतको सरकार चलाइसकेको छ । एमालेले अल्पमत र बहुमत, झन्डै दुई तिहाइको बहुमतको सरकारसमेत चलाइसकेको छ । २०६४ को निर्वाचनमा तत्कालीन माओवादीले पनि सामान्य बहुमतको एकमना सरकार चलाएको थियो । तर तीनवटै दलले भारुको विनिमयदरबारे निर्णय गर्नु त परको कुरा, केही उल्लेख नै गरेनन् ।

जेनजी आन्दोलनको विद्रोहपछि यो देश अब आफैंले लामो समयसम्म चलाउने जस्तो गरी रास्वपाले चुनावी घोषणापत्रमै भारुको पुनरावलोकन गर्ने बाचा गर्नुलाई अदृश्य शक्ति रिझाउन गरिएको प्रयास भएको टीकाटिप्पणी हुन थालेको छ । गत मंगलबार रास्वपा सभापति रवि लामिछानेले भारतीय राजदूत नवीन श्रीवास्तवलाई बत्तीसपुतलीस्थित होटेल द्वारिकाजमा गोप्य भेटेका थिए । त्यही भेटमा भएको मन्त्रणापछि रविले स्वर्णिम वाग्लेलाई भारुको पुनरावलोकन गर्ने बुँदा राख्न लगाएको धेरैको बुझाई छ ।

वाग्लेलाई रास्वपामा भारतसँग उदार भएको नेता भनेर चिन्ने गरिन्छ । बेलामौकामा स्वर्णिमले भारतको पक्षधरता देखाउने गरेका छन् । अहिले भारुको पुनरावलोकन गर्ने बाचा उल्लेख गरिनुलाई चुनावमा भारतीय सहयोगको अपेक्षा गरेको विश्लेषण हुन थालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *