काठमाडौं। जेन(जी) आन्दोलनपछि आगामी २०८४ मा हुने निर्वाचन ०८२ मा हुँदैछ । सरकारले निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा गरिसकेको छ भने मतदाताहरु पनि चुनावी अभियानमा मैदानमा नागरिकका घर दैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनमा कसरी जित हासिल गर्ने भन्ने उम्मेदवारहरुलाई चिन्ता छ । नेपामा पछिल्लोे समयमा कुनै पनि दलबिच चुनावी गठबन्धन नगरी निर्वाचनमा जाने दलहरुको तयारी रहे पनि सो निर्वाचनमा एकल बहुमत कुनै पनि दलहरुले ल्याउन सक्ने स्थिति देखिदैँ । वैकल्पिक शक्तिहरुको शक्ति प्रदर्शनका कारण निर्वाचनमा चुनावी तालमेल आवश्यक रहेको भन्ने चर्चा विगतदेखि नै जारी छन् । तर निर्वाचनअिध कुनै पनि दल चुनावी गठबन्धन भने गरेका छैनन् । २०७० को संविधानसभा निर्वाचनपछि प्रमुख दलहरू स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिए। तर हालको राजनीतिक परिप्रेक्ष्यले देखाएको छ—नेपाली कांग्रेस, एमाले र नेकपाबीच ‘अघोषित तालमेल’को सम्भावना बलियो छ। यसको मुख्य कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आक्रामक रणनीति र नयाँ पुस्ताको उदय हो, जसले ठूला दलहरूलाई रक्षात्मक बनाएको छ।
विशेषगरी रास्वपाले बलियो पकड बनाएको निर्वाचन क्षेत्रहरूमा तीन दलबीच भोट साँटफेर गर्ने मोडलमा अनौपचारिक छलफल भइरहेको स्रोतले दाबी गरेको छ। सम्भावित सहकार्यमा जित्ने सम्भावना बढी भएका उम्मेदवारलाई सांगठानिक मत हस्तान्तरण गर्ने योजना तयार भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५, कांग्रेस सभापति गगन थापा सर्लाही–४ र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड पूर्वी रुकुमबाट प्रतिस्पर्धा गर्दैछन्। एकल प्रतिष्पर्धा भएमा सबैको जित सुरक्षित छैन। यही कारण चितवन, रुपन्देही, दाङ, झापा र काठमाडौं जस्ता रास्वपाको बलियो क्षेत्रहरूमा गुप्त छलफल जारी छ।
रास्वपाबाट आक्रामक अभियान चलाइरहँदा ठूला दलहरू तुलनात्मक रूपमा रक्षात्मक छन्। यसै सन्दर्भमा कांग्रेसका गगन थापालाई चुनावपछिको प्रधानमन्त्री बनाउने शर्तमा एमालेले सहकार्य प्रस्ताव गरेको सेतको जिकिर छ । सामान्यतया प्रतिस्पर्धी दलबीच चुनावको समयमा यस्तो सौहार्द्रता देखिँदैन। विश्लेषकहरू भन्छन्, अघोषित तालमेल असामान्य भए पनि यसले चुनावी गणना र परिणाममा निर्णायक प्रभाव पार्न सक्छ। स्रोतहरूले अन्तर्राष्ट्रिय दबाब पनि यस सहकार्यमा प्रभावकारी रहेको दाबी गरेका छन्। पश्चिमी शक्तिहरू र छिमेकी राष्ट्रहरू नेपालमा स्थिर र अनुभवी नेतृत्व चाहन्छन्। यसैले गगन थापालाई उपयुक्त मानिएको छ। अमेरिका स्थिर लोकतन्त्र र भारत आफ्नो भू–राजनीतिक हित सुनिश्चित गर्न चाहन्छ।
क्षेत्रीय रणनीति र मत गणना
चितवन क्षेत्र उदाहरणीय छ। यहाँ रास्वपा अग्रस्थानमा भए पनि कांग्रेस, एमाले र नेकपाको सांगठानिक मत एकसाथ खनिएमा परिणाम उल्टिन सक्ने अनुमान छ। क्षेत्र नम्बर १ मा एमाले, २ मा कांग्रेस र ३ मा नेकपा सघाउने अनौपचारिक छलफलहरू भइरहेको स्रोतले बताए।
विशेष गरी चितवन–२ मा रवि लामिछाने र मीना खरेल, र चितवन–३ मा रेणु दाहाल र सोविता गौतमबीच प्रतिस्पर्धा कडा छ। संगठित मत आए परिणाम अप्रत्याशित हुन सक्ने स्रोतको विश्लेषण छ।
स्रोतका अनुसार, एमाले र नेकपाले तालमेलमा प्रायः सहमति जुटाइसके पनि कांग्रेस अझै अनिश्चित छ। मतदाताको अस्थिरता र पार्टीभित्रको दबाब तालमेलको सफलतामा चुनौती बन्नेछ। विश्लेषकहरूको निष्कर्ष—नेपाली राजनीतिक दलहरूबीचको अघोषित तालमेल असामान्य भए पनि संगठनात्मक बुद्धिमत्ता, क्षेत्रीय रणनीति र अन्तर्राष्ट्रिय दबाबले निर्णायक भूमिका खेल्न सक्छ। आगामी निर्वाचनले देखाउनेछ कि नेपालमा ‘सहकार्य बनाम प्रतिस्पर्धा’ बीचको सन्तुलन कति प्रभावकारी छ।
कांग्रेस सभापति गगन थापाले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने अडान दोहोर्याएका छन्। उनले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा सुधार, नागरिक अधिकार सुनिश्चितता र आर्थिक समृद्धिलाई प्राथमिकता दिने बताए।
थापाले प्रधानमन्त्री र मुख्यमन्त्री पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था प्रस्ताव गर्दै नयाँ पुस्तालाई अवसर दिने बताइन्। विशेषज्ञहरूले यो अडानलाई दीर्घकालीन रणनीति वा चुनावपूर्वको सन्देशको रूपमा विश्लेषण गर्दैछन्। यससँगै कांग्रेसको बलियो संगठनात्मक पुनर्संरचना र स्वतन्त्र चुनाव रणनीति आगामी निर्वाचनको परिणाम निर्धारण गर्ने महत्वपूर्ण तत्व बन्नेछ।




