काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ६ मा विकास र व्यवस्थापनका मुद्दा केन्द्रमा आएका छन्। शेखर कोइरालाले सुकुम्बासी समस्या समाधानदेखि विराटनगर चक्रपथ निर्माणसम्मका योजनालाई आफ्नो मुख्य प्राथमिकतामा राखेको बताएका छन्।
विराटनगर–६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुकुम्बासी बस्तीको दीर्घकालीन व्यवस्थापनका लागि ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार सुकुम्बासी आयोगका सदस्यहरूसँग प्रारम्भिक छलफल भइसकेको छ र छिट्टै आयोगको टोली बस्तीमै पुगेर स्थानीयको समस्या सुन्ने वातावरण मिलाइनेछ। “सुकुम्बासीलाई कानुनी हैसियतसहित बसोबासको सुनिश्चितता दिन आवश्यक प्रक्रिया अघि बढाइनेछ,” उनले भने, “समस्या बुझेर स्थायी समाधानतर्फ जानु हाम्रो पहिलो दायित्व हो।”
कोइरालाले विराटनगरको समग्र विकासका लागि चक्रपथ (रिङरोड) निर्माणलाई अर्को प्रमुख एजेन्डाका रूपमा अघि सारे। उनका अनुसार चक्रपथ अभावकै कारण सहरको विकासले अपेक्षित गति लिन सकेको छैन। समयमै रिङरोड निर्माण भएको भए वडा नं. ४ र ६ को स्वरूप नै परिवर्तन हुने र व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि हुने उनको दाबी छ। स्थानीय पूर्वाधारका विषयमा बोल्दै उनले वडा नं. ६ का केही सडक ठेक्का लागेर पनि ठेकेदार फरार हुँदा काम अलपत्र परेको खुलासा गरे। निर्वाचनपछि ती योजनालाई पुनः गति दिने र विकास निर्माणमा हुने ढिलासुस्ती नियन्त्रण गर्ने उनको प्रतिबद्धता थियो।
स्वास्थ्य क्षेत्रतर्फ पनि उनले योजना अघि सारेका छन्। सुकुम्बासी बस्ती नजिकै अस्पताल स्थापना गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले दुई वर्षअघि नै छुट्याइएको जग्गामा अब निर्माण प्रक्रिया अघि बढाइने बताए। कोइरालाले अधुरा योजना पूरा गर्न र विराटनगरको मुहार फेर्न कांग्रेसलाई समर्थन गर्न मतदातासँग अपिल गरेका छन्। चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा मोरङ–६ मा विकासका एजेन्डाले चुनावी बहसलाई थप तातेको देखिन्छ।




