काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा गगनकुमार थापाले चुनावी अभियानलाई तीव्र बनाएका छन्। नेपाली कांग्रेसका सभापति थापा यतिबेला लगातार देश दौडाहमा व्यस्त देखिएका छन्। घोषणापत्र सार्वजनिक कार्यक्रम सकेलगत्तै उनी मध्यराति जनकपुरतर्फ प्रस्थान गरेका छन्। हिजो दिउँसो काठमाडौंमा आयोजित कार्यक्रममार्फत पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका थापा राति करिब साढे ११ बजे बुद्ध एअरको उडानबाट जनकपुर गएका हुन्। त्यसअघि उनले जनकपुरमै विशाल आमसभालाई सम्बोधन गरेका थिए र हिजो बिहान मात्र काठमाडौं फर्किएका थिए।
पार्टी स्रोतका अनुसार थापा चुनावी रणनीतिअनुसार तराई–मधेस केन्द्रित अभियानमा छन्। स्थानीय नेता–कार्यकर्तासँग छलफल, घरदैलो कार्यक्रम तथा अन्तरक्रिया तीव्र पारिएको बताइएको छ। सामाजिक सञ्जालमार्फत पनि उनले मतदातासँग प्रत्यक्ष संवादलाई बढाएका छन्। आगामी २१ गते हुने निर्वाचनबाट प्रधानमन्त्रीका दाबेदार थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार छन्। उक्त क्षेत्रमा उनको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। पूर्व कांग्रेस नेता अमरेशकुमार सिंह यसपटक रास्वपाबाट मैदानमा उत्रिएका छन्। सिंह यसअघि कांग्रेसबाटै निर्वाचित भएका थिए। तर अहिले पछिल्लो समय सर्लाहीमा अमरेशलाई नेता तथा कार्यकर्ताहरुले थापाको तुलनामा असक्षम उम्मेदवारका रुपमा चित्रण गर्न थालेका छन् । उनका अभिव्यक्ति र एककोहोरो लाग्ने शैलीका कारण सिंहलाई मतदातहरुले खुलेर रुचाएको देखिदैँन् ।
निर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुख दलका शीर्ष नेताहरू जिल्ला–जिल्लामा सक्रिय देखिएका छन्। थापाको तीव्र दौडाहलाई कांग्रेसले ‘निर्णायक चुनावी अभियान’ का रूपमा व्याख्या गरेको छ भने विपक्षी दलहरूले यसलाई चुनावी दबाबको संकेत बताएका छन्। चुनावी माहोल तातेका बेला शीर्ष नेताहरूको यस्तो सक्रियता आगामी परिणाममा कति प्रभावकारी हुन्छ भन्ने चासो सर्वसाधारणमा बढ्दो छ।




