देश

देशभर अराजक बन्दै रास्वपा कार्यकर्ता र समर्थक, जनता आजित बन्दै

काठमाडौं । चुनावको दिन नजिकिएसँगै रास्वपाका उम्मेदवार, कार्यकर्ता र समर्थक अराजक बन्दै गएका छन् । कोही चुनाव नजिते आत्महत्या गर्छु भन्छन् । कोही रास्वपालाई मत नदिनेलाई देशद्रोही करार गर्छन् । कोही विपक्षी पार्टीको झन्डा जलाउँछन् । कोही अन्य दलका समर्थकलाई हनुमानको संज्ञा दिन्छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दाङमा एमालेको झण्डा जलाइदिएका छन् । बिहीबार राति पार्टी सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह सूर्य अंकित झण्डा जलाएका हुन् । रास्वपा कार्यकर्ताको भिडले झण्डा जलाएको भिडिओ सार्वजनिक भएको छ । जसमा उनीहरूले केपी चोर देश छोड भन्दै नाराबाजी गर्दै झण्डा जलाएको देखिन्छ । दाङ एमालेका महासचिव शंकर पोखरेलको गृहनगर हो ।

एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले सामाजिक सञ्जालबाट रास्वपाका कार्यकर्ताको यस कार्यको विरोध गरेकी छन् । ‘यो भन्दा अराजकता के हुनसक्छ ? चुनाव प्रचार गर्न पाइन्छ, तर अर्को पार्टीको झण्डा जलाउन पाइँदैन, यो अराजकताको परकाष्टा हो, समयमै चेत खुलोस्’ उनले लेखेकी छन् ।

उता रास्वपा उम्मेदवार अशोक चौधरीले आफ्नो पार्टीलाई भोट नदिनेलाई देशद्रोही करार गरेका छन् । रास्वपाका केन्द्रीय सदस्य तथा सुनसरी ३ का उमेदवार चौधरीले बिहीबार राति रास्वपालाई भोट नहाल्ने देशविरोधी भन्ने अभिव्यक्ति दिएपछि विवाद भएको छ । त्यसको विरोधमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले ‘घण्टी मुर्दावाद’ भन्दै नाराबाजी गरेपछि इटहरी जेसिजको कार्यक्रममा केही समय तनाव उत्पन्न भएको थियो ।

इटहरी जेसिजद्वारा सुनसरी २ र ३ का उम्मेदवारसँग गरिएको कार्यक्रममा चौधरीले घण्टीमा भोट नहाल्नेहरू राष्ट्रघाती भएको बताएका थिए ।
मतदातालाई चेतावनी दिएपछि आक्रोशित भिडबाट चौधरीलाई जोगाउन प्रहरीले सुरक्षा दिएर कार्यक्रमस्थल बाहिर निकालेको थियो । ‘यदि तपाईं परिवर्तन चाहनुहुन्छ भने रास्वपालाई दुई तिहाइ पुर्‍याउन लाग्नुस् । यदि लाग्नुहुन्न भने तपाईं अस्थिर सरकार चाहिरहनुभएको छ, तपाईं देशविरोधी र राष्ट्रघाती हो,’ उनले भने ।

चौधरीले त्यति बोल्नासाथ कार्यक्रममा सहभागी युवा र अन्य दलका प्रतिनिधिहरूले आपत्ति जनाउँदै होहल्ला सुरू गरे । मतदाताको स्वविवेकलाई अपमान गरेको भन्दै सहभागीहरूले ‘घण्टी मुर्दावाद १’ को नारा लगाएका थिए । अर्का उम्मेदवार घनश्याम गुरुङले स्टेजबाटै प्रतिवाद गर्दै भने, ‘हामी तपाईंको प्रतिस्पर्धी हौँ, के हामी पनि राष्ट्रघाती हौँ ? मतदातालाई यसरी गाली गर्ने अधिकार कसले दियो ?’
यस्तै, रास्वपाबाट सर्लाही ४ का उम्मेदवार अमरेशकुमार सिंहले चुनाव नजिते आत्मदाह गर्छु भन्दै ब्ल्याकमेलिङ गरिरहेका छन् । संविधानसभा निर्वाचनका बेला रौतहट १ बाट स्वतन्त्र उम्मेदवार बबन सिंहले आफूले चुनाव नजिते आत्महत्या गर्ने भन्दै डोरीले झुन्डिएको पर्चा सार्वजनिक गरेका थिए । अहिले अमरेश त्यही पथमा हिँडेका छन् ।

ललितपुर २ का रास्वपा उम्मेदवार जगदीश खरेलले भने अन्य दलका समर्थकलाई हनुमानको संज्ञा दिएका छन् । मत माग्न घरदैलोमा हिँडेका बेला मतदाताले प्रश्न सोधेपछि उनी आक्रोशित हुँदै हनुमान भनेका हुन् । त्यति मात्र होइन, रास्वपाका नेता कार्यकर्ताले मतदाताको घरघर पुगेर मुखैमा घन्टी बजाएर मानसिक तनाव दिने गरेको घटना सार्वजनिक भइरहेका छन् । दोलखामा यस्तै कुकृत्य गर्ने रास्वपाका समर्थक लखेटिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *