काठमाडौं । मधेश तराई विगतमा कांग्रेसको आधार भूमि मानिन्थ्यो । २०६३ को मधेश आन्दोलनअघिसम्म मधेशलाई कांग्रेसको भोट बैंककै रूपमा लिइन्थ्यो । तर जब उपेन्द्र यादवको नेतृत्वमा मधेश आन्दोलन भयो, कांग्रेसका स्थापित नेताहरू पार्टी छाडेर मधेश केन्द्रित दलको राजनीतिमा लागे त्यसैबेलादेखि हो कांग्रेसको आधार भूमि खस्केको ।
यसबीचमा चारवटा निर्वाचन सम्पन्न भइसके । तर कांग्रेसले निकै कम सिट मात्र जित्दै आएको छ । त्यही अवस्थालाई हेरेर विशेष महाधिवेशनपछि फेरिएको कांग्रेसले मधेशमा नयाँ ऊर्जा भर्ने प्रयास गरेको छ । पार्टी सभापति गगन थापा नै सर्लाही ४ बाट उम्मेदवार बनेपछि मधेश तरंगित भएको हो । सभापति थापा तीन चारचोटि निर्वाचन क्षेत्र गएर माहोल बनाएपछि र कांग्रेसले जनकपुरधामबाटै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेपछि मधेश जुरुक्कै कांग्रेसको पक्षमा उभिएको महसुस गर्न थालिएको छ ।
कांग्रेसले बुधबार जनकपुरमा आयोजना गरेको बृहत आमसभामा ८० प्रतिशत प्रतिबद्ध कार्यकर्ता र भोटर्स भएकाले पनि माहोल एकाएक बढेको विश्लेषण हुन थालेको हो । एक महिनाअघि रास्वपाले बालेन्द्र साह बालेनलाई मधेश पुत्र भन्दै उतारेको सभामा उपस्थित अधिकांश केटाकेटी र युवा थिए । रास्वपाको आमसभामा बालेनले बोलेपछि सभापति रवि लामिछाने बोल्ने बेलासम्म धेरैले मैदान छाडिसकेका थिए । तर कांग्रेसको आमसभामा पार्टीका खाँटी कार्यकर्ताको बाक्लो सहभागिता देखिन्थ्यो । कांग्रेस कार्यकर्ता तथा भोटर्स नयाँ सभापति गगन थापाले के भन्छन् भन्ने उत्सुकता देखाउँदै अबेरसम्म आमसभामा बसेका थिए ।
मधेशमा माहोल फेरिएसँगै कांग्रेसले मधेशका आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये कम्तीमा १६ स्थान जित्ने राजनीतिक विश्लेषकहरुको दावी छ । कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा हेभिवेट नेताहरु उठेका छन् । प्रत्येक जिल्लामा दुई दुई सिट जित्ने कांग्रेसको लक्ष्य पनि हो । त्यहीअनुसार अहिले प्रचार प्रसार व्यापक बनाइएको नेताहरुको भनाइ छ । नेताहरुका अनुसार सप्तरीमा दिनेश यादव र तेजुलाल चौधरी, सिरहामा डा.सुभासन्द्र यादव र राधेचन्द्र यादव, धनुषामा रामपल्टन साह, विमलेन्द्र निधि र महेन्द्र यादवको पक्षमा राम्रो माहोल बनेको छ । सबैजना जित्ने सूचीमा छन् ।
यस्तै, महोत्तरी १ मा मुकेश काफ्ले र ४ मा महेन्द्र यादव, सर्लाही १ मा शम्भुलाल श्रेष्ठ, ३ मा विनोद खनाल र ४ मा गगन थापाको पक्षमा माहोल बनेकाले जित हासिल गर्ने आन्तरिक मूल्यांकन छ । रौतहट १ मा अनिलकुमार झा, २ मा फिरदोष आलम र ४ देवप्रसाद तिमल्सिना अन्य दलका उम्मेदवारभन्दा निकै बलियो मानिन्छन् । बाराका चार निर्वाचन क्षेत्रमा भने कांग्रेसले निकै मिहिनेत गर्नुपर्ने बताइएको छ । पर्साका चारवटै निर्वाचन क्षेत्रमा कांग्रेसका सिनियर नेताहरु छन् । १ बाट अनिल रुंगटा, २ बाट अजय चौरसिया, ३ बाट सुरेन्द्र चौधरी र ४ बाट रमेश रिजाल छन् । रिजाल लगातार चुनाव जित्ने कांग्रेस नेता हुन् । पर्साका तीनवटा क्षेत्र जित्ने कांग्रेसको आन्तरिक रिडिङ छ ।
मधेशमा यसपटक विगतमा गुमेको समानुपातिक मत फिर्ता गराउने गरी अहिले ग्रासरुटमा संगठन विस्तारलाई महत्व दिइएको बुझिएको छ । रास्वपा नेता बालेन सुरुमै मधेश पसेकाले कांग्रेसलाई केही सकस भएको देखिए पनि अहिले विस्तारै मधेशले बुझ्दै गएकाले समानुपातिक मत बढाउने देखिएको छ । बालेनका काण्डैकाण्ड सार्वजनिक भएकाले त्यसको लाभ कांग्रेसले उठाउने बताइन्छ ।
एमालेले समेत मधेशमा यसपटक आफ्नो लय गुमेको आन्तरिक मूल्यांकन गरेको छ । रास्वपाले उठाएका अधिकांश उम्मेदवारको सामाजिक तथा राजनीतिक चरित्र, विगत र व्यवहार अन्य पार्टीका उम्मेदवारको तुलनामा निकै अन्तर देखिएको छ । सोही कारण देखाउँदै रास्वपाका मधेश सभापति ममता शर्मालगायतले राजीनामा दिएर कांग्रेस प्रवेश गरिसकेका छन् ।




