काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित भएर पार्टीले जारी गरेको प्रतिज्ञा पत्रको पारेमा स्पष्ट गरेका छन् ।
काँग्रेसको प्रतिज्ञाका विषयमा आम मानिसका प्रश्नको जावफ दिन आयोजित गरिएको कार्यक्रममा बोल्दै सभापति थापाले प्रतिज्ञा पत्रको विषयमा उठेका प्रश्नका बारेमा प्रष्ट पारेका हुन् ।
उनले अब बन्ने सरकारमा केन्द्रमा १६ भन्दा बढी मन्त्रालय नहुने र प्रदेशमा ६ भन्दा बढी मन्त्रालय नबनाउने स्पष्ट गरेका छन् ।
सभापति थापाले अब काँग्रेसले नियुक्तिमा भागबण्डामा नलाग्ने प्रतिबद्धता व्यक्त गर्दै अब नियुक्ति क्षमताको आधारमा गर्ने बताए । उनले नेपालीको प्रतिव्यक्ति आय २५ सय डलर पुर्याउने बताए र यसको लागि १३७ खर्ब परिचालन गर्नुपर्ने जानकारी दिए । उनले काँग्रेसको आर्थिक नीति निजी क्षेत्रमैत्री हुने स्पष्ट गर्दै निजी क्षेत्रसँगको सहकार्य नगरी विकास गर्न नसकिने बताए । उनले काँग्रेसलाई निजी क्षेत्र मैत्री भन्ने आरोप लागे पनि त्यो आरोप स्वीकार गर्न तयार रहेको समेत बताए ।
सभापति थापाले काँग्रेसले १० लाखसम्म आय हुनेलाई कुनै कर नलगाउने र संस्थागत करको सिमा २० प्रतिशतमा झार्ने स्पष्ट गरे । उनले करको नीतिमा व्यापक परिवर्तन गर्ने घोषणा गर्दै सभापति थापाले विदेशमा रहेका नेपाली र विदेशीले देशमा लगानी गर्न आउने वातावरण बनाउने बताए ।
उनले बैंकमा अहिले धेरै पैसा थुप्रिएको बताउदै नीतिको अभावमा लगानी गर्न नसकिएको अवस्था अहिले रहेको उनले उल्लेख गरे । युवाहरुलाई साझेदार भएको बताउदै प्रशासनदेखि स्थानीय तहदेखि राजनीतिक दलसम्म सबै स्थानमा युवाका लागि ‘ल्याट्रल इन्ट्री’ खोल्ने घोषणा गरे ।
काँग्रेसको १५ लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता गरेको बताउदै यो कुन कुन क्षेत्रमा रोजगारी सिर्जना गर्ने भन्ने आफुहरुले विस्तृत योजना बनाएर घोषणा गरेको स्पष्ट गरे ।
सभापति थापाले वैदेशिक रोजगारी केहि बर्ष रोक्न नसकिने स्पष्ट गर्दै यस क्षेत्रलाई काँग्रेसले व्यवस्थित गर्ने बताए । विदेश जानेदेखि फर्केर आउने अवस्थासम्म सरकारले जिम्मा लिने स्पष्ट गरेका छन् ।




