काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी राजनीतिक यात्रामा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने अडान पुनः दोहोर्याएका छन्।
काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत पार्टीको प्रतिवद्धता सार्वजनिक गर्दै उनले कांग्रेस अब आफ्नै बलमा अघि बढ्ने स्पष्ट संकेत दिएका हुन्।
थापाले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा सुधार, नागरिक अधिकारको सुनिश्चितता र आर्थिक समृद्धिलाई प्राथमिक कार्यसूची बनाउने बताए। उनका अनुसार अबको राजनीति सत्ताकेन्द्रित समझदारीभन्दा नागरिक–केन्द्रित सेवा प्रवाहमा केन्द्रित हुनुपर्छ।
उनले प्रधानमन्त्री र मुख्यमन्त्री पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि अघि सारे। यसले नेतृत्वको पुनरावृत्ति रोक्ने र नयाँ पुस्तालाई अवसर दिने विश्वास व्यक्त गरे।
थापाको ‘एक्लै चुनाव लड्ने’ घोषणा गठबन्धन राजनीतिप्रति असन्तुष्टि मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलन र भावी नेतृत्व बहससँग पनि जोडिएको विश्लेषण भइरहेको छ। गठबन्धनको निरन्तर प्रयोगले संगठन कमजोर बनेको ठहर गर्दै उनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा पुनर्संरचना गर्ने संकेत दिएका छन्।
अब प्रश्न उठेको छ—यो अडान दीर्घकालीन रणनीति हो कि चुनावी तयारीअघिको राजनीतिक सन्देश ? त्यसको जवाफ आगामी राजनीतिक समीकरणले दिनेछ।




