रिबन

इन्जिनियर हत्या प्रकरणमा न्यायको मागसहित सिरहामा आक्रोश भिड सडकमा

काठमाडौं । इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको चार दिन बित्दा पनि अभियुक्त पक्राउ नपरेपछि सिरहामा स्थानीयवासी सडकमा उत्रिएका छन्।

यादवको गृहजिल्ला सिरहाको धनगढीमाई बजार क्षेत्रमा प्रदर्शनकारीले चक्काजाम गर्दै महेन्द्र राजमार्ग केही समय अवरुद्ध पारे। हत्याको घटनामा ढिलाइ भएको भन्दै उनीहरूले दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

प्रदर्शनकारीले घटनाको चार दिनसम्म पनि ठोस सुराक नलागेको आरोप लगाउँदै ओमप्रकाश अर्यालको राजीनामा माग गरेका छन्। सुरक्षा संयन्त्र असफल भएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरिएको छ। “न्याय नपाए आन्दोलन अझ सशक्त बनाइनेछ,” प्रदर्शनमा सहभागी स्थानीयले चेतावनी दिएका छन्।

प्रहरीले भने घटनाको अनुसन्धान तीव्र पारिएको र संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा विभिन्न कोणबाट छानबिन भइरहेको दाबी गरिएको छ। सिरहामा भएको विरोध प्रदर्शनले केवल एउटा आपराधिक घटनाको न्याय माग मात्र होइन, समग्र सुरक्षा अवस्थाप्रति जनस्तरमा बढ्दो असन्तुष्टि पनि संकेत गरेको छ। घटनामा छिटो प्रगति नदेखिए थप आन्दोलन चर्किन सक्ने देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *