काठमाडौं । नेपाली कांग्रेसले जनकपुरधामबाट चुनावी शंखनाद गरेको छ । बुधबार जनकपुरधामको तिरहुतियागाछीमा आयोजित चुनावी सभामा कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।
कांग्रेसको प्रतिज्ञापत्रमा भिजन १० समावेश गरिएको छ । जसमा सम्मानित भएर बाँच्न पाउने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल, ओखती र ओत दिने नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल, बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल, मौलिकतमा गर्व गर्ने आधुनिक नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल र समुन्नतिमा लम्किने नेपाल उल्लेख छ ।
भिजन १० मा परिवर्तित समयको चेतनालाई आत्मसात गरेर नयाँ सोच र युवा ऊर्जासहित परिमार्जित भएको कांग्रेस विचारमा प्रष्ट र कार्यशैलीमा चुस्त बनेको, विगतका थुप्रै ऐतिहासिक उपलब्धिमाथि गर्व गर्दै र समस्त कमीकमजोरीको अनुभवबाट पाठ सिक्दै हामी देशको अवस्था बदल्ने र देशलाई सम्हाल्ने दृढ प्रतिज्ञाका साथ घरदैलोमा आएको उल्लेख गरेको छ ।
सम्मानित भएर बाँच्न पाउने नेपाल शीर्षकमा भनिएको छ, ‘हामी यस्तो समाजको निर्माण गर्नेछौं, जुन कुनै पनि बहानामा हुने शारीरिक, मानसिक वा लैङ्गिक हिंसाबाट मुक्त हुनेछ । वंश, जाति वा लिङ्गका आधारमा प्राप्त हुने विशेषाधिकार एवं जन्म भएको परिवार वा स्थानको आधारमा नागरिकको भाग्य निर्धारण हुने अवस्थाको अन्त्य हुनेछ । जात, धर्म, वर्ण, लिङ्ग, वर्ग वा भूगोलका आधारमा सृजना भएका छुवाछूत, विभेद र अवरोधलाई भत्काउँदै हामी प्रत्येक नागरिकले आत्मसम्मानका साथ निर्धक्क बाँच्न र सिर्जना गर्न सक्ने साझा घर र सहिष्णु समाज बनाउने छौ ।’
यस्तै, सपना देख सक्ने नेपाल शीर्षकमा धर्म, परम्परा, संस्कृति, कला र रीतिरिवाजहरूको विविधता नै नेपालको सुन्दर र विशिष्ट पहिचान भएको उल्लेख गर्दै हाम्रा विविध भाषा, कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षण हुने जनाइएको छ । ‘यिनै विविधता र विशिष्टताको जगमा उभिएर हामी आधुनिकतासँग कुममा कुम मिलाएर अघि बढ्ने नेपाल निर्माण गर्नेछौं । विश्व ज्ञान विश्व अर्थतन्त्र र विश्व संस्कृतिसँग जोडिएको तर आफ्नो मौलिकतामा गर्व गर्ने नेपाल निर्माण हुनेछ,’ भिजन १० मा भनिएको छ ।
सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल शीर्षकमा आँट गरेर लगानी गर्ने, रोजगारी र सम्पत्ति सृजना गर्ने एवं उत्पादनमा जोडिने सबैलाई काँध थाप्ने राज्य हुने उल्लेख गर्दै सानादेखि ठूलासम्मका व्यवसाय गर्ने नागरिकलाई राज्यले हरतरहले प्रोत्साहन र साथ दिने जनाइएको छ । साथै, आर्थिक रूपमा पछाडि परेका नागरिकलाई पनि सम्पत्ति र आय आर्जन गर्न सक्ने गरी सक्षम बनाउने घोषणा गरिएको छ ।
पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल शीर्षकमा भनिएको छ, ‘हाम्रो परिकल्पनाको नेपालमा किसानहरू सम्पन्न र मुलुकको प्रगतिका मुख्य सारथी हुनेछन् । कृषि पेसा कुनै नागरिकको बाध्यता नभई आधुनिक र मर्यादित छनोट हुनेछ । नेपाली किसानले मुलुकलाई चाहिने स्वास्थ्यकर खाद्यान्न आपूर्ति मात्र गर्ने छैनन्, प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चिचता समेत पाउनेछन् ।’
ओखती र ओत दिने नेपालमा ‘विश्व ज्ञान विश्व अर्थतन्त्र र विश्व संस्कृतिसँग जोडिएको तर आफ्नो मौलिकतामा गर्व गर्ने नेपाल निर्माण हुनेछ,’ उल्लेख छ ।यस्तै, छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपालमा ‘शारीरिक पोषण पूरा भएका नानीबाबुहरूमा सिकाइको क्षमता बढ्छ, त्यसैले राज्यले शिक्षासँगै जोडेर पोषणको पनि जिम्मा लिनेछ । सबै किसिमका हिंसा र शोषणबाट मुक्त हाम्रा नानीबाबुले विद्यालय र खेलमैदानमा रमाउँदै बाल्यकाल बिताउन पाउने छन् । प्रिप्राइमरीदेखि विश्वविद्यालयसम्मको सिकाइलाई प्रविधि र प्रयोगसँग जोड्ने शिक्षालयहरू विद्यार्थीको सृजनशीलता र नवप्रवर्तनको उच्चतम प्रयोग र प्रोत्साहन हुने केन्द्र हुनेछन् ।
जीवनोपयोगी ज्ञान, विवेकपूर्ण चेतना र मूल्यमा आधारित शिक्षा प्रणालीले हाम्रा युवालाई विश्वभर प्रतिस्पर्धा गर्न सक्ने बनाउनेछ’ उल्लेख छ ।
बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपालमा अबदेखि आम नागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानूनको नजरमा समान हुने, निमुखालाई ऐन र ठूलालाई चैन हुने विभेदकारी अवस्थाको अन्त्य हुने, सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहने, अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुने, स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत ज्ञान, इमान र क्षमता भएका योग्य एवं संविधानप्रति बफादार नागरिकहरू नियुक्त हुने उल्लेख गरिएको छ ।
विश्वले सम्मान गर्ने स्वाभिमानी नेपालमा नेपाल विश्व समुदायमाझ एक सार्वभौम शान्त र स्वाभिमानी राष्ट्रको रूपमा स्थापित हुने, परराष्ट्र नीति राष्ट्रिय हित र सार्वभौमिक समानताको जगमा उभिने,छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुनेछ र यस्तो सम्बन्धलाई पारस्परिक हित र आर्थिक साझेदारीका आधारमा अगाडि बढाउने उल्लेख छ ।
समुन्नतिमा लम्कने नेपाल शीर्षकमा हाम्रो प्रणालीको कार्यसम्पादन क्षमता उत्कृष्ट र परिणाममुखी हुने,। सबै योजनाहरूको गति र गुणस्तर विश्वस्तरको हुने, कृषि, पर्यटन, ऊर्जा, आईटी, खेलकुद, यातायातजस्ता क्षेत्रलाई आधुनिक र सवल बनाउँदै अत्यावश्यक पूर्वाधारहरूको द्रुत विकास हुने, हिमाल, नदी, वनजंगल जस्ता हाम्रा अमूल्य प्राकृतिक सम्पदाहरू भावी पुस्ताका लागि सुरक्षित रहने जनाइएको छ ।




