देश

“कसलाई जिताउने होइन, देश कसले सम्हाल्छ भन्ने निर्णायक घडी आयो” : उपसभापति शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको निर्वाचन कसलाई जिताउने भन्नेभन्दा पनि देशलाई कसले सम्हाल्छ भन्ने मूल प्रश्न भएको बताएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित काँग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले चुनावी मैदानमा दुई खाले प्रवृत्ति देखिएको उल्लेख गरे । एक पक्षले भदौ २३ अगाडिसम्म देशको अवस्था ठिक थियो भन्ने भाष्य बनाइरहेको र अर्को पक्षले विगतका सबै व्यवस्था र अभ्यासलाई असफल देखाउने प्रयास गरिरहेको उनले बताए । यस्तो परिस्थितिमा निर्वाचनले देश सम्हाल्न सक्ने नेतृत्व रोज्नुपर्ने उनको भनाइ थियो ।

शर्माले निर्वाचनअघि साझा राष्ट्रिय संकल्पसहित अघि बढ्न सबै दल र पुस्तालाई आह्वान गरे । सुशासन, स्थिरता र दीर्घकालीन रूपान्तरणका लागि गोलमेच संवाद गर्नसमेत आफूहरू तयार रहेको उनले बताए । “सबै दल, सबै पुस्ता र सबै विचारलाई जोडेर देशलाई सुशासनतर्फ लैजाने साझा संकल्प आवश्यक छ,” उनले भने ।

उनले भदौ २३ को विद्रोहको जडमा पुगेर समाधान खोज्न नसके आगामी दशकमा पुनः अस्थिरता दोहोरिन सक्ने चेतावनी दिए । काँग्रेसले तत्कालीन निर्वाचन मात्रै नभई दीर्घकालीन राष्ट्रिय दिशातर्फ दृष्टि केन्द्रित गरेको बताउँदै २०९२ सालसम्मको योजनासहित अघि बढिरहेको जानकारी दिए ।

उपसभापति शर्माले आफूहरू आत्मपरिवर्तनमार्फत देश परिवर्तनको अभियानमा रहेको दाबी गर्दै मतदातालाई नयाँ र पुरानोको द्वन्द्वमा अल्मलिनु नपर्ने बताए । सक्षम नेतृत्व चयनमार्फत राष्ट्रको भविष्य सुरक्षित गर्न उनले आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *