देश

आवेगले होइन योजनाले देश बन्छ,पपुलिज्म सत्तामा आए देशले थेग्न सक्दैन : सभापति थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले मुलुकलाई अहिले व्यापक सुधारको खाँचो रहेको उल्लेख गर्दै सुधारको स्पष्ट एजेन्डा र ग्यारेन्टीसहित आफ्नो पार्टी जनतामाझ उभिएको बताएका छन्।

राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति थापाले आगामी पाँच वर्षलाई खेर जान नदिने संकल्पसहित योजना बनाएर अघि बढेको बताए। उनले विशेषगरी युवा पुस्तामा बढ्दो असन्तोषप्रति ध्यानाकर्षण गराउँदै देश सञ्चालनको वर्तमान शैलीप्रति उठेका गुनासा धेरै हदसम्म जायज रहेको धारणा राखे।

विगत १०–१२ वर्षमा अपेक्षाअनुसार विकास हुन नसकेको स्वीकार गर्दै उनले अबको कार्यकालमा परिणाममुखी काम गरिने प्रतिबद्धता जनाए। देश परिवर्तनका लागि केवल आवेग, आक्रोश वा उत्तेजना मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले दीर्घकालीन सोच, योजना र सहकार्य आवश्यक हुने बताए।

थापाले देश निर्माणमा सबै राजनीतिक दलहरूको सहभागिता अपरिहार्य रहेको धारणा राखे। दलहरूबीच विमति र प्रतिस्पर्धा स्वाभाविक भए पनि राष्ट्रिय हितका सवालमा सहकार्य हुनुपर्ने उनले बताए। सबै राजनीतिक शक्तिलाई समेटेर अघि बढ्ने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो।

आगामी निर्वाचन सन्दर्भमा उनले ‘पपुलिस्ट’ शक्तिहरू सत्तामा पुगे देशले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए। नेपालजस्तो संस्थागत रूपमा अझै सुदृढ भइनसकेको लोकतन्त्रका लागि पपुलिज्म थप चुनौतीपूर्ण हुनसक्ने उनको तर्क थियो।

परिपक्व लोकतन्त्र भएका देशहरू समेत पपुलिज्मको प्रभावमा परेको उदाहरण दिँदै उनले त्यहाँ संस्थाहरू बलिया भएकाले त्यस्ता प्रवृत्ति छिट्टै कमजोर हुने गरेको बताए। नेपालमा भने संस्थागत कमजोरीका कारण यसको असर गम्भीर हुनसक्ने उनले औँल्याए।

उनले बौद्धिक वर्ग र पेशाकर्मीलाई पपुलिज्मविरुद्ध खुलेर बोल्न आग्रह गर्दै प्रश्न गर्ने संस्कार जोगाउनुपर्नेमा जोड दिए। सत्तामा नपुग्दै प्रश्न सहन नसक्ने शक्तिहरू सत्तामा पुगेपछि अभिव्यक्ति स्वतन्त्रता नै जोखिममा पर्नसक्ने उनको चेतावनी थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *