देश

नागरिक बचाउ महाअभियानले उठाएका २७ बुँदे मागहरू तत्काल सम्बोधन नगरे देशव्यापी बन्दको तयारी

काठमाडौं। नागरिक बचाउ महाअभियानले आफूहरूले अघि सारेका २७ बुँदे माग तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। अभियानले संयोजक दुर्गा प्रसाईंलाई बिना सर्त रिहा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएको हो। अभियानले जारी गरेको वक्तव्यमा प्रसाईंलाई ठोस आधारबिना हिरासतमा राखिएको दाबी गर्दै उक्त कदमलाई अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको प्रहारका रूपमा व्याख्या गरिएको छ। जनताका माग सम्बोधन गर्नुको साटो राज्य शक्तिको प्रयोग गरेर दमन गरिएको आरोप पनि लगाइएको छ।

सरकारसँग पटक–पटक शान्तिपूर्ण आग्रह गर्दा पनि बेवास्ता गरिएको उल्लेख गर्दै अभियानले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। फागुन ६ गतेदेखि देशभर अनिश्चितकालीन ‘नेपाल बन्द’ गर्ने घोषणा गरिएको छ। बन्दका क्रममा उद्योग, कलकारखाना, यातायात, शैक्षिक संस्था तथा व्यापारिक प्रतिष्ठानहरू पूर्ण रूपमा बन्द गरिने जनाइएको छ। त्यसैगरी, मुख्य चोक र जिल्ला सदरमुकामहरूमा शान्तिपूर्ण प्रदर्शन तथा कोणसभा आयोजना गरिने बताइएको छ।

अभियानले प्रसाईंको तत्काल रिहाइ, २७ बुँदे मागको कार्यान्वयन, अभिव्यक्ति स्वतन्त्रताको सम्मान तथा राजनीतिक प्रतिशोधका आधारमा गरिने पक्राउ रोक्न माग गरेको छ। आन्दोलनबाट हुन सक्ने असुविधाप्रति क्षमायाचना गर्दै विभिन्न पेशा–व्यवसाय तथा आम नागरिकलाई समर्थनका लागि आह्वान गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *