काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरधाममा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ । नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुन लागेको प्रतिज्ञासभामा प्रतिज्ञा पत्र सार्वजनिक गरिने भएको हो ।
प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मधेशको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञासभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रुपमा कांग्रेसले लिएको छ।
मधेशको माटोले सधैं प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको कांग्रेसका नेताहरूले बताउने गरेका छन्।
मधेश आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेण्डाका रूपमा आत्मसात गरेको नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ ।
यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘नेपाली कांग्रेसका सभापति गगन कुमार थापा स्वयं मधेशको जिल्ला सर्लाही क्षेत्र नं ४बाट उम्मेदवार बनेर मधेशको जनतासँग प्रत्यक्ष जोडिनुभएको छ । यो केवल चुनावी रणनीति मात्र नभई मधेश र राष्ट्रिय राजनीतिबीचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो ।’
मधेशको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्ययोजनासहित कांग्रेस अगाडि बढ्ने यादवको अठोट छ।
प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको उनले जानकारी दिए।
जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञा पत्रका बारेमा काठमाडौँमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको छ।
आज अपरान्ह ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्रबारे जानकारी दिने कांग्रेसले जनाएको छ ।




