काठमाडौं। बौद्धस्थित पाँचतारे होटल भित्र सञ्चालित क्यासिनो प्राइडमा भएको करिब १४ करोड रुपैयाँ लुट प्रकरणमा संलग्न १० जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। मंगलबार थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले मुख्य प्रतिवादी दावा शेर्पा ‘सेठ्ठी’, रञ्जित खड्गी ‘रने’ र दोर्जे शेर्पासहित १० जनालाई अनुसन्धान नसकिँदासम्म कारागार पठाउने निर्णय गरेको हो।
गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा उनीहरूले क्यासिनोबाट ठूलो रकम लुटेको आरोप छ। यस प्रकरणमा दावा शेर्पा, रञ्जित खड्गी, दोर्जे शेर्पा, शुक्रराज घिसिङ, मनोहरी पौडेल, करण डंगोल, अभिषेक चौहान, शिशिर राई, सुनिल गजमेर र रञ्जन तामाङ पक्राउ परेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध आपराधिक उपद्रव र डाँकाचोरी मुद्दा दर्ता गरेको छ। साथै, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।




