काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुर्गा प्रसाईँको पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ। मंगलबार राप्रपा उपाध्यक्ष रोशन कार्कीको नेतृत्वमा गएको टोलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो।
राप्रपाका नेता निरञ्जन थापाका अनुसार मौलिक अधिकारको प्रयोग गरिरहेका व्यक्तिलाई बारम्बार पक्राउ गर्नु लोकतान्त्रिक अभ्यासविपरीत कदम भएको पार्टीको निष्कर्ष छ। निर्वाचनको पूर्वसन्ध्यामा गरिएको पक्राउले चुनावी वातावरण र निष्पक्षतामै प्रश्न उठ्ने राप्रपाको धारणा छ।
भेटका क्रममा राप्रपा नेताहरूले प्रसाईँलाई थुनामा राखेर सरकारले दमनकारी नीति अपनाएको आरोप लगाउँदै तत्काल रिहा गर्न दबाब दिएका थिए।
यता, गृहमन्त्री अर्यालले भने प्रसाईँको पक्राउ सरकारको प्रत्यक्ष निर्णय नभई निर्वाचन आयोगको पत्रका आधारमा भएको स्पष्ट पारे। आचारसंहिता उल्लङ्घन वा अन्य प्राविधिक कारण देखाउँदै आयोगले निर्देशन दिएपछि प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ।
प्रसाईँ पक्राउ परेपछि उनका समर्थकहरूले विभिन्न स्थानमा विरोध प्रदर्शनसमेत गरिरहेका छन्।




