राजनीति

नुवाकोट १ मा डा.प्रकाशशरण महत मतदाताको पहिलो रोजाइ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत चुनावी मैदानमा उत्रिएपछि नुवाकोट १ मा माहोल तातेको छ । उनी पहिलोपल्ट नुवाकोट १ मा उम्मेदवार बनेका हुन् । यसअघि उनका दाजु एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले चुनाव जित्दै आएको क्षेत्र हो यो ।

ऊर्जा, अर्थ र परराष्ट्रमन्त्री बनेर सरकार सञ्चालन गरेको अनुभव र पटकपटक सांसद बनेर नीति निर्माण तहमा महत्वपूर्ण योगदान दिएकाले पनि महत अहिले नुवाकोट १ मा लोकप्रिय उम्मेदवार बनेका छन् । नुवाकोटका जनताले उनलाई विकासप्रेमी, सरल, जनमुखी तथा दूरदर्शी नेताका रूपमा चिन्ने गरेका छन् ।

पछिल्लो समय अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका डा.महतले नुवाकोट जिल्लाको विकास र पूर्वाधार विस्तारका लागि महत्वपूर्ण बजेट सुनिश्चित गरेका थिए । उनले नुवाकोटलाई सडक सञ्जाल, पूर्वाधार, शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा अघि बढाउने उद्देश्यसहित विभिन्न योजनाहरू अघि सारेका थिए ।

तीनपिप्ले–ककनी हुँदै रानीपौवासम्मको पासाङल्हामु मार्ग (राजमार्ग) स्तरोन्नतिको पहल यसको ज्वलन्त उदाहरण हो । नुवाकोट १ अन्तर्गत पर्ने राजमार्ग खण्ड लामो समयदेखि दयनीय अवस्थामा थियो । करिब १० वर्षसम्म ठेकेदार कम्पनीको लापरवाही, राजनीतिक पहुँच तथा कमजोरीका कारण सडक विस्तार र स्तरोन्नति कार्य अलपत्र परेको थियो ।

यस्तो अवस्थामा डा.महतले अलपत्र ठेक्का तोडेर नयाँ टेन्डर प्रक्रियामार्फत काम अघि बढाउने निर्णायक कदम चालेका थिए । उनले पहिलो चरणमा तीनपिप्लेदेखि रानीपौवासम्मको सडक खण्डमा बजेट सुनिश्चित गर्दै फास्ट ट्रयाक’ शैलीमा काम सुरु गराएका थिए । जसलाई नुवाकोटका जनताले सकारात्मक रूपमा लिएका छन् ।

नुवाकोट १ मा मतदातासँग मत माग्दै गर्दा महतले आफूलाई विकासप्रेमी नेताका रूपमा प्रस्तुत गरेका छन् । कुनै चटक र स्टन्ट देखाएका छैनन् । नुवाकोटवासी डा. महतले केवल भाषणमा होइन, व्यवहारमा विकास गरेर देखाएको बताउन थालेका छन् । त्यसैले यसपटकको निर्वाचनमा जनता विकासको मूल्यांकन गर्दै आफ्नो मत सही नेतृत्वलाई दिने मनस्थितिमा पुगेका छन् ।

नुवाकोट १ बाट विगतमा तत्कालीन माओवादी नेता तथा हाल नेकपा नेता हितबहादुर तामाङ तीनपटकसम्म सांसद बने । पटक पटक मन्त्री पनि बने । तर उनको कार्यकालमा उल्लेखनीय विकास कार्य हुन सकेन । उनी अहिले पनि उम्मेदवार बनेका छन् ।डा. महत केही गरौँ भन्ने हुटहुटी बोकेका, सरल, जनप्रिय र कर्मशील नेताका रूपमा मतादातामाझ परिचित हुँदै गएका छन् । त्यसैले अहिले उनी निर्वाचन क्षेत्रका हरेक जनताको घरदैलोमा पुगेर जनताको दुःख–सुख बुझ्ने का गरिरहेका छन् ।

के कस्ता विकासका काम गर्नुपर्ने हो, त्यसको टिपोट गरिरहेका छन् । त्यसैले स्थानीयस्तरमा महतप्रति व्यापक जनसमर्थन देखिएको छ । नुवाकोट १ मा यसपटक विकासको मुद्दा निर्णायक बन्ने देखिएकाले डा.महतको योगदान, जनतासँगको निकटता र परिणाममुखी कार्यशैलीका कारण उनको जित सुनिश्चितजस्तै देखिएको स्थानीय बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *