काठमाडौं । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुदूरपश्चिमसँग सिमाना जोडिएको बर्दियामा पनि चुनावी चहलपहल तीव्र बनिरहेको छ। यहाँ पुराना र नयाँ दलका उम्मेदवार गाउँ–गाउँ पुगेर मतदातासँग भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन्।
बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठौर ले राजापुर नगरपालिकाको मानपुर टपरामा मतदातासँग संवाद गर्दै आफूले क्षेत्रको विकासमा निरन्तर काम गर्दै आएको जानकारी दिएका छन्। उनले स्वास्थ्य, शिक्षा, सडक, पुल र खानेपानी जस्ता आधारभूत आवश्यकता पुर्याउन आफ्नो भूमिका महत्त्वपूर्ण भएको बताए।
५६ वर्षीय राठौरले बताएका छन् कि राज्यका सबै निकाय इमान्दार भएर काम नगरेको कारण जनताले आवश्यक सेवा सुविधा पाउन सकेको छैन। “मैले राजनीतिलाई सेवा र उत्तरदायित्वको रूपमा लिएको छु,” उनले भने।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाको छिमेकी बाँकेबाट निर्वाचित भएका राठौरले २९ हजार ४० मत प्राप्त गरी विजयी भएका थिए। यसपटक उनी कांग्रेसको बलियो आधारभूमिका कारण बर्दिया–२ मा आफ्नो जित पक्का रहेको दाबी गर्छन्।
तर, पार्टीको विशेष महाधिवेशनपछि विकसित परिस्थितिले केही जिल्लामा सहयोग कम भएको गुनासो पनि राठौरले उठाए। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको महत्त्वपूर्ण सदस्यका रूपमा उनले पार्टीभित्र केही तिक्तता अनुभव भएको बताउँदै आगामी निर्वाचनमा जनताको विश्वास जित्ने प्रतिवद्धता दोहोर्याए।




