काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री बन्नुपर्ने अवस्था आएको बताएका छन्।
चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा मतदातासँगको संवादमा ओलीले आफ्नो सरकारले थालेका विकासका काम रोकिँदै आएको अनुभव सुनाए। उनले भने, “विकासको काम सुरु गर्दा विरोधीहरूले सहनै सक्दैनन्। मैले रेल फेरि सञ्चालनमा ल्याउन खोजेँ, पानीजहाजमार्फत सम्बन्ध जोड्ने योजना अघि बढाएँ, तर काम सुरु गर्नासाथ फेरि सरकार भत्काइयो। यसरी चार पटक प्रधानमन्त्री हुनुपर्यो कि एक कार्यकाल पूरा गर्न सकियोस्।”
उनले विरोधीहरूले आफूले गरेको देशभक्ति र विकासको कामको विरोध गरेको आरोप लगाउँदै, “अलिकति काम गरेपछि भत्काइहाल्छन्। देशको हित र विकासका काम गर्नै दिँदैनन्। यहाँ औद्योगिक क्षेत्र बनाउन नदिने भन्दै विभिन्न आन्तरिक–बाह्य शक्तिहरू लागेका छन्,” पनि बताए। ओलीले शास्त्र, इतिहास र उदाहरणका आधारमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्दा ‘उखान–टुक्का’ भनेर उडाइने गरेको पनि बताए।
उनले आगामी योजनाबारे चर्चा गर्दै भने, “सभागृह चाहिँदैन। विश्वभरका शहर, नगर, समुदायमा भवन, रंगशाला र औद्योगिक संरचना हुन्छन्। भ्यु टावर भनेर आलोचना भइरहेको यो वस्तुतः बिजनेस कम्प्लेक्स हो। यसलाई आइटी हबको रूपमा विकास गर्ने सोचका साथ अगाडि बढाइएको हो। नयाँ खालको इनभेस्टमेन्ट र आइटी इन्डस्ट्री यसमा केन्द्रित रहनेछ।” यसैगरी उनले मतदातालाई देशको विकासका लागि आफ्नो निरन्तर प्रतिबद्धता र योजना बुझाउन प्रयास गरे।




