अर्थ

फागुन २१ को निर्वाचनका लागि चीनले प्रस्ताव गर्यो ५८ करोड रुपैयाँ सहयोग

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि चीनले आर्थिक सहयोग दिने इच्छा देखाएको छ। अर्थ मन्त्रालयका स्रोतका अनुसार चीनले करिब ५८ करोड रुपैयाँ उपलब्ध गराउने प्रस्ताव पेश गरेको छ।

आर्थिक मामिलाका लागि जिम्मेवार मन्त्री रामेश्वर खनालले पनि चीनबाट सहयोगको प्रस्ताव आएको स्वीकार गर्दै यसबारे हालसम्म कुनै सम्झौता नभएको जानकारी दिएका छन्।

निर्वाचनका लागि भारत, जापानले पहिले नै सहयोग उपलब्ध गराइसकेका छन्। भारतले ६५० सवारी साधन उपलब्ध गराउनेछ भने, जापानले ४० करोड रुपैयाँ र यूएनडीपीले निर्वाचन आयोगलाई सहयोग गरेको छ।

भारतले उपलब्ध गराउने ६५० सवारीमध्ये तीन चरणमा ३१० भन्दा बढी सवारी साधन पहिले नै हस्तान्तरण भइसकेको छ। जापानले पहिले उपलब्ध गराएको सहयोग रकममध्ये बाँकी रहेको रकम पुनः उपलब्ध गराएको छ। दुवै देशसँगको सम्झौता अनुसार सहयोग टुंगोमा पुगेको अर्थ मन्त्रालयले जनाएको छ।

यूएनडीपीले विगतमा पनि चुनावी सहयोग गर्दै आएको थियो भने, यसपटकको सहयोग त्यसको निरन्तरता रहेको स्पष्ट गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *