काठमाडौं । श्रम संस्कृति पार्टीले अनिवार्य श्रम र श्रमदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने प्रतिबद्धतासहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा तयार पारिएको घोषणापत्रमा श्रम केन्द्रित विकास मोडेललाई प्राथमिकता दिइएको छ।
पार्टीले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित उपयोगमार्फत आत्मनिर्भर, समृद्ध र स्वाधीन राष्ट्र निर्माण गर्ने लक्ष्य राख्दै “हर्कवाद” नामक नयाँ राजनीतिक दर्शन प्रस्तुत गरेको छ। घोषणापत्रमा श्रमलाई सर्वोच्च मूल्यका रूपमा स्थापित गर्दै सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक क्षेत्रमा श्रम संस्कृतिको विस्तार गरिने उल्लेख छ।
घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था प्रस्ताव गरिएको छ। एक कार्यकाल पाँच वर्षको हुने र एक व्यक्ति दुई कार्यकालभन्दा बढी निर्वाचित हुन नपाउने प्रावधान राखिएको छ। संघीय संसद दुई सदनात्मक र प्रदेश तहमा एक सदनात्मक संरचना रहने योजना अघि सारिएको छ।
कृषि, उद्योग, जडीबुटी, खानी, ऊर्जा र प्रविधिमा आधारित उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पार्टीले लिएको छ। कृषिलाई पहिलो प्राथमिकता दिँदै उन्नत बीउ–मल उत्पादन, सिंचाइ विस्तार, सामुदायिक खेती र कृषि उद्योग स्थापना गरिने योजना उल्लेख गरिएको छ। आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई दीर्घकालीन रणनीति बनाइने बताइएको छ।
शिक्षा क्षेत्रमा जीवनोपयोगी तथा व्यवहारिक प्रणाली लागू गर्ने योजना छ। हप्तामा तीन दिन सैद्धान्तिक र चार दिन श्रम, उत्पादन, खेलकुद तथा सीपमूलक तालिम सञ्चालन गर्ने अवधारणा अघि सारिएको छ। कक्षा १२ पछि अनिवार्य ६ महिने सैनिक तालिमको प्रस्ताव पनि समेटिएको छ। युवालाई राजनीतिक दुरुपयोगबाट टाढा राखी उत्पादन र आविष्कारमा केन्द्रित गरिने नीति लिइएको पार्टीको भनाइ छ।
आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने, स्वास्थ्य तथा शिक्षा बीमा विस्तार गर्ने र वृद्ध–अपाङ्ग भत्ता वृद्धि गर्ने योजना घोषणापत्रमा समावेश छ। श्रमिक, किसान र निम्न आय वर्गका लागि विशेष सहुलियत कार्यक्रम ल्याइने उल्लेख गरिएको छ।
यस्तै, डिजिटल आर्थिक प्रणाली लागू गरी अवैध सम्पत्ति नियन्त्रण, स्रोत नखुलेको सम्पत्ति जफत, आर्थिक कारोबारको डिजिटल अभिलेख राख्ने तथा सरकारी बैठक लाइभ प्रसारण गर्ने योजना पनि अघि सारिएको छ। मितव्ययी शासन प्रणालीमार्फत फजुल खर्च कटौती गरिने पार्टीले जनाएको छ। घोषणापत्र औपचारिक रूपमा सार्वजनिक गर्ने कार्यक्रम भने छिट्टै तय गरिने पार्टी स्रोतले जनाएको छ।




