काठमाडौं । नेपाली कांग्रेसले पार्टी निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूमाथि कडा कदम चाल्ने संकेत गरेको छ। सोही विषयमा छलफल गर्न केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको हो। विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिले गठन गरेको अनुशासन समिति संयोजक तारामान गुरुङको नेतृत्वमा पहिलो बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकको मुख्य एजेण्डा देशभर पार्टीका तर्फबाट बागी बनेका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने रहेको छ। तोकिएको समयसीमाभित्र फिर्ता नलिए अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाइने तयारी गरिएको उनले बताए।
कांग्रेसका अनुसार हालसम्म देशभर तीन जनाले बागी उम्मेदवारी दिएका छन्। कपिलवस्तु–१ बाट आषिश शर्मासहितका उम्मेदवारमाथि पार्टीले विशेष निगरानी राखेको जनाएको छ। समितिका सदस्यमा धना खतिवडा र सुवासकुमार पोखरेल रहेका छन्। पार्टी एकता र आधिकारिक उम्मेदवारको पक्षमा मत एकीकृत गर्न अनुशासन समितिले कडा र स्पष्ट सन्देश दिने तयारी गरेको कांग्रेस स्रोतले जनाएको छ।




