काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा चुनावी समीकरण परिवर्तन भएको छ । श्रीनिवास यादवले जनता समाजवादी पार्टी, नेपालबाट दिएको उम्मेदवारी फिर्ता लिँदै नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।
सोमबार जारी प्रेस विज्ञप्तिमार्फत उनले पार्टीको साधारण सदस्यता सहित सबै जिम्मेवारी त्यागेको घोषणा गरेका हुन्। कानूनअनुसार उम्मेदवारी दर्ता गरी घरदैलो अभियानमा सहभागी भइसके पनि वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा स्थायित्व र निकासका लागि एमाले उपयुक्त शक्ति भएको निष्कर्षमा पुगेको उनले उल्लेख गरेका छन्।
विज्ञप्तिमा देश, जनता र राष्ट्रप्रति प्रतिबद्ध रहँदै आजकै मितिदेखि जसपाको सम्पूर्ण जिम्मेवारी परित्याग गरी आफ्नो उम्मेदवारी फिर्ता लिएको र एमालेमा समाहित भएको उल्लेख छ। यादवले आफूलाई विश्वास गर्ने मतदातालाई एमालेको चुनाव चिह्न ‘सूर्य’ मा मतदान गर्न आग्रह गरेका छन्। साथै रुपन्देही–३ का एमाले उम्मेदवार बासुदेव घिमिरेलाई अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन्।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेसहित नेताहरू भूमिश्वर ढकाल, गोमादेबी आचार्य, भरत पोखरेल, राजेन्द्र पन्थी, प्रमोद यादव, हरिप्रसाद अधिकारी, उमा काफ्ले र अनुप बराललगायतले यादवलाई पार्टीमा स्वागत गरेका थिए।




