काठमाडौं । केपी शर्मा ओली ले भदौ २४ गते भएको आन्दोलनका क्रममा भएका आगजनी तथा हिंसात्मक घटनामा ‘जेनजी’ पुस्ता नभई आपराधिक समूह घुसेको दाबी गरेका छन्।
झापाको दमक नगरपालिका–२ मा नेपाल शिक्षक संगठन ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आन्दोलनको स्वरूपलाई तोडमोड गरिएको बताए।
उनले जेनजीलाई केवल उमेर समूहका रूपमा चित्रित गर्दै वास्तविक आन्दोलनकारीलाई दोषारोपण गर्नु उचित नहुने धारणा राखे। “जेनजी एउटा उमेर समूह हो, उनीहरूको आन्दोलनमा अपराधी घुसेर मुलुक जलाउने काम गरेका हुन्,” उनले भने, “शिक्षक र विद्यार्थीले देश जलाएका होइनन्।”
केही महिनाअघि भएको शिक्षक आन्दोलनका सन्दर्भमा बोल्दै उनले आफू प्रधानमन्त्री रहँदा माग सम्बोधनका लागि पहल गरेको उल्लेख गरे। विभिन्न राजनीतिक आस्थाका आधारमा फरक–फरक माग आएका कारण सहमति जुटाउन कठिन भएको उनको भनाइ थियो।
शिक्षा मन्त्रीलाई नै माग सम्बोधनको जिम्मेवारी दिइएको स्मरण गराउँदै उनले आन्दोलनले अपेक्षित निकास पाउन नसकेको टिप्पणी गरे।
अध्यक्ष ओली चार दिन काठमाडौं बसाइपछि आइतबार आफ्नो गृहजिल्ला झापा फर्किएका हुन्।




