काठमाडौं । नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले जनताको अपेक्षा सम्बोधन गर्दै देशलाई सही दिशामा अघि बढाउनु अहिलेको मुख्य राजनीतिक जिम्मेवारी भएको बताएका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का मतदातासँगको भेटघाटमा आगामी पाँच वर्ष सरकारका लागि परिणाम दिनुपर्ने महत्वपूर्ण अवधि हुने उल्लेख गरे । उनले जनभावनाअनुसार काम गर्न नसके राजनीतिक नेतृत्वमाथि विश्वास घट्ने चेतावनीसमेत दिए ।
उनका अनुसार अब देश द्वन्द्व, अशान्ति र अस्थिरतातर्फ होइन, सुशासन र स्थायित्वतर्फ अघि बढ्नुपर्छ। “सिंहदरबार जल्ने वा गोली चल्ने अवस्था दोहोरिनु हुँदैन, कर्तव्यबोधका साथ शासन सञ्चालन गर्नुपर्छ,” उनले भने , “जनता कुशासनबाट आजित छन्, सुधारका थुप्रै क्षेत्र छन्।”
सभापति थापाले रोजगारी सिर्जना, गुणस्तरीय स्वास्थ्य सेवा र पहुँचयुक्त शिक्षालाई सरकारको प्राथमिक कार्यसूचीमा राख्नुपर्ने बताउनुभयो। युवापुस्ताको अपेक्षा सम्बोधन नगरी समृद्धि सम्भव नहुने उहाँको धारणा थियो।
उनले उत्साहसँगै अनुभव र जोशसँगै होसको संयोजनबाट काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै अब परिणाम देखाउने समय आएको उल्लेख गर्नुभयो। सबै राजनीतिक दलबीच सहकार्य गर्दै स्थायित्व र विकासका मुद्दामा साझा पहल आवश्यक रहेको पनि उनले बताए ।
काँग्रेसले नतिजामुखी काम गर्ने दाबी गर्दै थापाले शिक्षा, स्वास्थ्य, कृषि लगायत आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।




