राजनीति

बदलिएको पार्टीले संसदमा बहुमत ल्याउँछ :उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेस पार्टी आगामी प्रतिनिधिसभा निर्वाचनमा बहुमत हासिल गर्ने दाबी गरेका छन्। आइतबार पार्टी मुख्यालयमा आगन्तुकहरूलाई भित्र्याउँदै उनले देशभर कांग्रेसको पक्षमा जनमत बढ्दो क्रममा रहेको र एक हप्ताभित्रै पार्टी बहुमत ल्याउने अवस्थामा पुग्ने बताए।

उपसभापति शर्माका अनुसार, “अहिलेकै गतिमा जनमत बढ्दो अवस्थामा छ। यदि यही प्रवृत्ति कायम रह्यो भने आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्छ।” उनले वर्तमान राजनीतिक परिप्रेक्ष्यमा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने सम्भावना स्पष्ट रहेको पनि बताए।

जेनजी आन्दोलनपछि नेपाली कांग्रेसलाई नयाँ शक्ति भएको उपसभापति शर्माले औंल्याए। उनका शब्दमा, “परिवर्तन खोजेको हो भने परिवर्तन नै भएको कांग्रेस हो। पार्टीमा समाहित हुने सदस्यको संख्या बढ्दै गएको छ, जसले हाम्रो दाबीलाई बलियो बनाउँछ।”

शर्माले आफूले मात्र होइन, नेतृत्व परिवर्तन गर्न सक्ने समूहले देश बदल्न सक्ने विश्वास व्यक्त गर्दै भने, “कसैले आफैँलाई बदल्न सक्दैन तर देश बदल्छु भन्नेले सुन्नु पर्छ। जो आफूलाई बदल्न सक्छ, त्यसले देशलाई पनि बदल्छ। यही आधारमा कांग्रेसले जनताको विश्वास जित्नेगरी अघि बढिरहेको छ।”

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई जिताउन सम्पूर्ण नेताकार्यकर्ता एक जुट भएको र अभियान तीव्र पारिएको उपसभापति शर्माले बताए। उनका अनुसार, पार्टीको नयाँ रणनीति र संगठनात्मक सुधारले आगामी चुनावमा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *