काठमाडौं । आगामी निर्वाचनको माहोल अझै स्पष्ट रूपमा बनेको अनुभूति नभएको टिप्पणी केपी शर्मा ओली ले गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष ओलीले आइतबार झापास्थित भद्रपुर विमानस्थल मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचनको वातावरणबारे ठोस निष्कर्ष निकाल्ने अवस्था नरहेको बताए ।
उनले चुनाव घोषणा भई प्रक्रिया अघि बढेमा आफ्नो पार्टी सहभागी हुन तयार रहेको स्पष्ट पारे । “चुनाव हुने भयो भने हामी भाग लिन्छौँ, तर वातावरण बनेको छ भनेर अहिले नै भन्न सकिने अवस्था देखिँदैन,” उनले भने ।
निर्वाचनको समग्र तयारी र वातावरणबारे सरकार नै बढी जानकार हुने उल्लेख गर्दै ओलीले बाह्य रूपमा हेर्दा अझै पूर्ण तयारी भइसकेको संकेत नदेखिएको धारणा राखे । साथै, उनले चुनावी अभियानका क्रममा सकेसम्म धेरै जिल्लामा पुगेर कार्यकर्ता र मतदातासँग भेटघाट गर्ने योजना रहेको पनि जानकारी दिए ।




