काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन् । नेपाली सेना ले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको बढाइँ तथा सैनिक कला प्रदर्शनी–२०८२ कार्यक्रममा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित आइतबार बिहान उपस्थित भएका हुन् । समारोहमा सेनाले राष्ट्रपतिप्रति सम्मान प्रकट गर्दै औपचारिक सलामी अर्पण गरेको थियो । नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपतिले सैनिक स्मारकमा पुष्पहार अर्पण गरेका थिए ।
कार्यक्रमका क्रममा सेनाले विविध रणकौशल, आकर्षक मार्चपास, परम्परागत पोशाक झल्कने सांस्कृतिक प्रस्तुति, नृत्य तथा सांगीतिक धुन प्रदर्शन गरेको थियो । त्यस्तै, हेलिकप्टरमार्फत पुष्पगुच्छा वर्षा, राइफल तथा तोपबाट बढाइँ र विशेष कवाज प्रस्तुत गरिएको थियो ।
सो अवसरमा राष्ट्रपतिले नेपाली सेनाद्वारा प्रकाशित ‘सिपाही’ पत्रिकाको विमोचन गर्नुका साथै प्रदर्शनीतर्फ उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तिहरूलाई पुरस्कार प्रदान गरेका थिए । समारोहस्थलमा सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा प्रयोग हुने सवारी साधन, उपकरण तथा हतियारसमेत प्रदर्शन गरेको थियो । साथै, मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका ब्याण्ड टिम प्रमुखहरूलाई राष्ट्रपतिले उपहार प्रदान गरेका थिए ।
विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, कूटनीतिक नियोगका प्रमुख, अशोकराज सिग्देलसहित सुरक्षा निकायका उच्च अधिकारी तथा सरकारी पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।




